२०८३ कार्तिक ८, शनिबार
24 खबर अपडेट

प्रचण्डद्धारा पाल्हीनन्दनको मूख्य प्रशासनिक भवन उद्घाटन, वर्तमान सरकारको अवधिबारे शङ्का नगर्न आग्रह

२०७८ आश्विन २३, शनिबार प्रकाशित (५ साल अघि) ११७२ पाठक संख्या

मोहन पौडेल
परासी, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारले पूणर्ता पाएकोले अव सरकारको कामले गति लिने बताउनुभएको छ । वर्तमान गठबन्धनको सरकार पूरै अवधि नचल्ने हो की भनेर शङ्का नगर्न आग्रह गर्दै उहाँले जनपक्षीय काम गरेर यही सरकारले चुनाव गराउने जिकिर गर्नुभयो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित मूख्य प्रशासनिक भवनको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार र गठबन्धन चुनावसम्मै कायम रहने उल्लेख गर्नुभयो । आगामी चुनावमा पूर्व माओवादी घटकसहित बाम गठबन्धन बन्ने र बामगठबन्धन नै पहिलो शक्ति हुने उहाँले दाबी गर्नुभयो ।
उहाँले मधेसी नागरिकको अधिकार प्राप्त नभएसम्म आफूले सङ्घर्ष गरिरहने उल्लेख गर्दै चुनाव अघि नै भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरिने जिकिर गर्नुभयो । उहाँले नागरिकता सम्बन्धि समस्याको पनि केही दिनमा समाधान हुने जानकारी दिनुभयो । मधेसका अधिकार प्राप्त नभएसम्म मधेससँगको आफ्नो प्रेम नटुट्ने उहाँको भनाई थियो ।
पाल्हीनन्दन गाउँपालिकाले प्रशासनिक भवन,अस्पताल,सभाहल,प्राविधिक विद्यालय निर्माण ,युवालाई रोजगारी,महिलाका लागि विशेष कार्यक्रम सञ्चालन गरेको भन्दै प्रचण्डले प्रशंसा गर्नुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले जनमुखि कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कण्डेलले नागरिकताको समस्या समाधान,महेशपुर भन्सार स्तरोन्नति ,भन्सार सडक चारलेनमा विस्तार गर्नुपर्ने बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका नेता मुकुरजि गिरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । गाउँपालिकाले रु नौ करोड ३५ लाखको लागतमा पाँच तले आधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले जानकारी दिनुभयो ।
प्रचण्डले आजै नेकपा माओवादी केन्द्रले वेलाशपुरमा गरेको बृहत आमसभालाई सम्बोधन गर्दै सयौं व्यक्तिलाई पार्टी प्रवेश गराउनुभयो भने प्रेस सेन्टरले सुनवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सहभागी हुनुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस


↑