२०८३ मंसिर ११, शुक्रबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजमार्फत सांसद यादवद्धारा दृष्टिविहीन विद्यार्थीलाई टिसर्ट वितरण

२०८३ मंसिर ११, शुक्रबार प्रकाशित (७ घण्टा अघि) ३० पाठक संख्या

परासी,११ मंसिर । पश्चिम नवलपरासीको परासीस्थित आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई टिसर्ट वितरण गरिएको छ।
रामग्राम महिला जेसीजको आयोजनामा प्रतिनिधिसभा सदस्य रिंगला यादवले विद्यालयको दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत २१ जना विद्यार्थीलाई आफ्नो व्यक्तिगत खर्चमा टिसर्ट उपलब्ध गराउनुभएको हो।
विद्यार्थीको हौसला बढाउने र उनीहरूप्रति सामाजिक उत्तरदायित्व अभिव्यक्त गर्ने उद्देश्यले गरिएको उक्त सहयोग कार्यक्रममा सांसद यादवले दृष्टिविहीन विद्यार्थीको शिक्षा, आवास तथा आवश्यक पूर्वाधार विकासमा आफूले निरन्तर सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले स्रोत कक्षामा अध्ययनरत विद्यार्थीका लागि छात्रावासलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन आवश्यक पूर्वाधार निर्माणमा पहल गर्ने बताउनुभयो। सांसद यादवले यसअघि पनि दृष्टिविहीन विद्यार्थीलाई सहयोग गर्दै आउनुभएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादवले दृष्टिविहीन विद्यार्थीको अध्ययन र आवासलाई सहज बनाउन छात्रावास भवन व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि आवश्यक पहल गरिदिन सांसद यादवसँग आग्रह गर्नुभयो।
रामग्राम महिला जेसीजकी अध्यक्ष बबिता जयसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामग्राम जेसीजका अध्यक्ष मुकेश नारायण लोनिया, निवर्तमान अध्यक्ष विष्णुराज राव, पूर्व अध्यक्ष एवं पत्रकार मोहन पौडेल, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष प्रभिता गुरुवाचार्य, कार्यकारीणी उपाध्यक्ष लक्ष्मी चौधरी मल्ल, स्वास्थ्य निर्देशक राधा कोइरीलगायतले बोल्दै दृष्टिविहीन विद्यार्थीको क्षमता विकास, शिक्षामा पहुँच र आत्मसम्मान अभिवृद्धिका लागि सामाजिक संघसंस्था तथा सरोकारवाला निकायले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको रामग्राम महिला जेसीजकी महासचिव उमा गुप्ताले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑