२०८३ मंसिर १०, बिहिबार
24 खबर अपडेट

रामग्राममा लैङ्गिक हिंसाविरुद्ध टिकटक सचेतना प्रतियोगिता, उत्कृष्टलाई २५ हजार पुरस्कार

२०८३ मंसिर १०, बिहिबार प्रकाशित (११ घण्टा अघि) ६५ पाठक संख्या

परासी, १० मंसिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा टिकटक सचेतना प्रतियोगिता आयोजना गरिएको छ । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना, रामग्राम नगरपालिकाको आयोजनामा प्रतियोगिताको घोषणा गरिएको हो ।
‘महिला तथा बालिका विरुद्ध हुने हिंसा अन्त्य गर्न एकजुट होऔँ, न्याय सुनिश्चित गरौँ, प्रभावितको संरक्षण गरौँ, दण्डहीनता अन्त्य गरौँ’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामार्फत सामाजिक सञ्जालको प्रयोग गरी लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
परियोजनाका विज्ञ अनुप खड्काका अनुसार प्रतियोगिता आगामी बुधबार नोभेम्बर २५ देखि सुरु भइ डिसेम्बर ९, २०२६ राति ११ः५९ बजेसम्म सञ्चालन हुनेछ। रामग्राम नगरपालिकाभित्र बसोबास गर्ने इच्छुक युवा, विद्यार्थी तथा समुदायका सबै सदस्यले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगितामा लैङ्गिक हिंसा रोकथाम, लैङ्गिक समानता, न्यायमा पहुँच, प्रभावितको संरक्षण, सरकारी तथा सामुदायिक निकायबीचको समन्वय, बालबालिकाको सहभागिता, पुरुष तथा बालकको भूमिका र सामाजिक सहयोग सेवालगायतका विषयमा आधारित मौलिक टिकटक भिडियो निर्माण गर्नुपर्ने खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागीले नेपाली भाषा वा स्थानीय भोजपुरी भाषा प्रयोग गरी भिडियो बनाउन सक्नेछन्। स्थानीय परिवेश र भाषालाई प्राथमिकता दिइने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि तयार गरिने भिडियो अधिकतम दुई मिनेटको हुनुपर्नेछ।
भिडियो सहभागी स्वयंले सिर्जना गरेको मौलिक हुनुपर्नेछ भने अन्य व्यक्तिको सामग्री हुबहु नक्कल गर्न पाइने छैन। तयार भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दा क्ष्न्द्यख्च्ल् को आधिकारिक टिकटक तथा सामाजिक सञ्जाल पेजलाई ट्याग गर्नुपर्ने व्यवस्था गरिएको छ।
भिडियो निर्माण गर्दा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको पहिचान खुल्ने विवरण सार्वजनिक गर्न नपाइने, गोपनीयता कायम गर्नुपर्ने तथा सम्बन्धित व्यक्तिको सूचित मञ्जुरीबिना व्यक्तिगत विवरण प्रयोग गर्न नहुने व्यवस्था गरिएको छ। पीडितलाई दोष दिने प्रवृत्ति, हानिकारक रूढिवादी धारणा, भ्रामक सूचना, असंवेदनशीलता तथा विभेदकारी सामग्री समावेश भएका भिडियो अयोग्य ठहरिनेछन्।
प्रतियोगितामा उत्कृष्ट नौ जना सहभागीलाई कुल ५८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। जसअनुसार प्रथम हुनेलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, चार जनालाई जनही दुई हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा प्राप्त भिडियोको मूल्याङ्कन डिसेम्बर ९ गते राति ११ः५९ बजेसम्म गरिने र डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजना हुने अभियानको समापन समारोहमा उत्कृष्ट भिडियो तथा विजेताको घोषणा गरी पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ।
प्रतियोगिताको बुधबार आयोजित अभियान उद्घाटनको अवसरमा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले घोषणा गर्नुभएको हो । सामाजिक सञ्जाललाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी सामाजिक रूपान्तरण, महिला तथा बालिका अधिकार संरक्षण र लैङ्गिक हिंसाविरुद्ध जनमत निर्माणको प्रभावकारी माध्यमका रूपमा उपयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


↑