२०८३ मंसिर १०, बिहिबार
24 खबर अपडेट

भुजहवामा १३० जनाको निःशुल्क आँखा परीक्षण, ६२ जनामा मोतियाबिन्दु पहिचान

२०८३ मंसिर १०, बिहिबार प्रकाशित (११ घण्टा अघि) ६० पाठक संख्या

 

परासी,१० मंसिर । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ भुजहवामा सञ्चालित आँखा उपचार केन्द्रमा आयोजित निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु पहिचान शिविरबाट ६२ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन्।

नेपाल नेत्रज्योति संघ, डा. विनोद–निता कण्डेल आँखा अस्पताल परासीद्वारा सञ्चालित आँखा उपचार केन्द्रमा बुधबार सेवा फाउण्डेशनको आर्थिक सहयोगमा एकदिने निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु पहिचान शिविर सम्पन्न भएको हो।

शिविरमा कुल १३० जनाको निःशुल्क आँखा परीक्षण गरिएको अस्पतालका व्यवस्थापक अजय पाण्डेले जानकारी दिनुभयो । परीक्षणका क्रममा ६२ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको र पहिचान भएका सबै बिरामीको मोतियाबिन्दुको शल्यक्रिया अस्पतालले निःशुल्क गरिदिने उहाँले बताउनुभयो ।

ग्रामीण तथा समुदायस्तरमै आँखा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको शिविरले आर्थिक तथा भौगोलिक कारणले उपचार सेवाबाट वञ्चित नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

आँखाको नियमित परीक्षण, समयमै रोगको पहिचान र सहज उपचारमार्फत दृष्टि संरक्षण तथा अन्धोपन न्यूनीकरण गर्ने अभियानअन्तर्गत अस्पतालले यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै आएको छ।

मोतियाबिन्दुका कारण दृष्टि गुमाउने जोखिममा रहेका बिरामीलाई निःशुल्क शल्यक्रियाको व्यवस्था गरिनुले स्थानीयस्तरमा आँखा उपचार सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑