२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

दुई महीनापछि नवलपरासीमा जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन

२०७८ अषाढ १८, शुक्रबार प्रकाशित ( साल अघि) ७४२ पाठक संख्या

मोहन पौडेल
परासी, १८ असार – निषेधाज्ञा खुकुलो भएसँग नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको छ । लामो समयपछि यातायात सञ्चालनमा आएपनि यात्रुको सङ्ख्या भने निकै कम रहेको यातायात व्यवसायीहरुले बताएका छन् ।
दोस्रो भेरियन्टको कोरोना भाईरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी गरिएपछि रोकिएको सार्वजनिक सवारी साधान दुई महीनापछि सञ्चालन गरिएको हो । गत वैशाख २१ गते राति १२बजेदेखि निषेधाज्ञा जारीभएपछि सार्वजनिक यातायात ठप्प थियो ।
जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड अपनाएर जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपछि आजदेखि यात्रुबाहक सवारी सञ्चालन गरिएको पाल्ही मध्य नेपाल यातायात प्रालिका अध्यक्ष ऋषिराम पौडेलले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
“लामो समयपछि यातायात खुलेकोले आज फाट्फुट मात्र गाडी सञ्चालन गरिएको छ, यात्रुको सङ्ख्या पनि निकै कम छ, अब आईतबारदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याउँछौँ”, उहाँले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्ला भित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।
आजदेखि बिहान ६ बजेदखि साँझ ७ गते सम्म मात्र सार्वजनिक यातायात सञ्चालन गर्न पाउने प्रशासनले जनाएको छ । जोर गते जोर नम्बर र विजोर गते बिजोर नम्बरका सवारी साधनहरु स्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न दिईएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिनुभयो ।
सवारी साधन चलाउँदा मास्क, सेनिटाईजरको अनिवार्य प्रयोग गर्ने, यात्रुहरुबीच भौतिक दुरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो । तीन पाङ्ग्रे सवारीको हकमा रुट परमीट अनुसार तोकिएको क्षेत्रमा मात्र यात्रुहरुबीच भौतिक दुरी कायम गरी सञ्चालन गर्न पाउने र निजी सवारी पनि भौतिक दुरी कायम हुने गरी सञ्चालन गर्न पाउने प्रजिअ मिश्रले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%१%

प्रतिक्रिया दिनुहोस