२०८३ श्रावण १९, मंगलबार
24 खबर अपडेट

सरावलमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

२०८२ मंसिर २७, शनिबार प्रकाशित ( महिना अघि) ६१३ पाठक संख्या

मोहन पौडेल
परासी, २७ मंसिर । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पालिका–स्तरीय अन्तर विद्यालय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।
सरावल–६ गडौरीस्थित महेन्द्र जनता माविको खेलमैदानमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्रका १७ विद्यालयका छात्र–छात्राहरू सहभागी छन्।
तीन खेल—भलिबल, कबड्डी र एथलेटिक्स अन्तर्गत विभिन्न इभेन्टहरूमा छात्र तथा छात्राबीच प्रतिस्पर्धा हुँदै प्रतियोगिता मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ। विद्यालयका प्रधानाध्यापक श्रवण साहनीका अनुसार खेलकुदमार्फत विद्यार्थीको क्षमतावृद्धि र विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउनु प्रतियोगिताको मुख्य उद्देश्य हो।
उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। प्रतियोगिता उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले विद्यार्थीमा शारीरिक तन्दुरुस्ती, खेलमैत्री वातावरण, नेतृत्व विकास तथा स्थानीयस्तरमै रहेका प्रतिभाको पहिचान–प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले निरन्तर रूपमा प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो।
प्रतियोगितामा उत्कृष्ट विद्यालय र उत्कृष्ट खेलाडीलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जन्मेजय यादवको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष बासमती हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, नेपाली कांग्रेसका उपसभापति अनिल गौड, सरावल–४ का वडा अध्यक्ष सुरेश यादवलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा विद्यालयमा अक्षय कोष स्थापनाको घोषणा गर्ने समाजसेवी वीरेन्द्र यादव तथा वडा अध्यक्ष छोटेलाल गुप्तालाई सम्मानसमेत गरिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस