मोहन पौडेल
परासी, १० असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले ५३ करोड ११ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको मंगलबार सम्पन्न १८ औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि रु ५३ करोड ११ लाख १३ हजार ८२१ बराबरको बजेट सार्वजनिक गरेको हो ।
सभामा गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी(सकिना)ले प्रस्तुत गरेको उक्त बजेट सर्वसम्मत पारित भएको थियो । उपाध्यक्ष अन्सारीका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट सशर्त अनुदान रु २० करोड, समानीकरण अनुदान रु ११ करोड ८ लाख, घरजग्गा रजिष्ट्रेसन दस्तुर बाँडफाँडबाट रु ८० लाख,राजश्व बाँडफाँडबाट रु नौ करोड ४३ लाख ९६ हजार ९५६, संघीय विशेष अनुदान रु २ करोड र समपुरक अनुदान रु एक करोड प्राप्त हुने अनुमान गरेको छ ।
यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान ७७ लाख ४४ हजार रुपैयाँ,सशर्त अनुदान रु एक करोड ५ लाख, राजश्व बाँडफाँडबाट रु ९६ लाख ५५ हजार प्राप्त हुने अनुमान गरिएको छ भने गत वर्षको मौज्दात रु चार करोड ५० लाख रहेको उपाध्यक्ष अन्सारीले बताउनुभयो । ६ वटा वडा रहेको गाउँपालिकाले प्रत्येक वडालाई रु एक करोडका दरले बजेट विनियोजन गरेको छ ।
सभामा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सीमित बजेटका बीच गाउँपालिकाको समग्र विकासलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।
C1