

परासी,२४ साउन । नेपाल जेसीज क्षेत्र घ सम्मेलन २०२४ नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को गैँडाकोटमा आयोजना हुँदै छ । गैँडाकोट जेसीजको आतिथ्यमा यही भदौ २८ र २९ गते जेसीजको क्षेत्र घ सम्मेलन हुन लागेको हो ।
क्षेत्रीय सम्मेलनका लागि आवश्यक पूर्व तयारीका कामहरु धमाधम भईरहेको सम्मेलन निर्देशक एवं गैँडाकोट जेसीजका पूर्व अध्यक्ष गोकुल सापकोटाले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन सत्रमा नेपाल जेसीज क्षेत्र घ अन्तरगत(गैँडाकोटदेखि महेन्द्रनगरसम्म)का ५६ शाखामा आवद्ध जेसीज अभियान्ता एवं स्थानीयसमेत गरि एक हजार भन्दा बढीको सहभागिता रहने सापकोटाले बताउनुभयो ।
क्षेत्र घ बाहेक अन्य क्षेत्रका शाखाबाट पनि जेसीज अभियान्ताहरुको सहभागिता रहने भएकोले सम्मेलनको माध्यमबाट गैँडाकोटलाई राष्ट्रिस्तरमा चिनाउन, यहाँको पर्यटन प्रवद्र्धन गर्न र आर्थिक चलायमान बनाउन महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको सम्मेलन निर्देशक सापकोटाले बताउनुभयो ।
देशभरबाट आउने पाहुनाहरुलाई यस क्षेत्रको कला, संस्कृतिको प्रर्दशनी,स्थानीय उत्पादनको प्रवद्र्धन एवं पर्यटकीय आकर्षणको माध्यमबाट गैँडाकोटलाई चिनाउने तयारी गरिएको उहाँले बताउनुभयो ।
गैँडाकोट नगरपालिका–२ स्थित होटल नारायणीमा आयोजना हुने क्षेत्र घ सम्मेलन सम्पन्न गर्न विभिन्न १३ वटा उपसमितिहरु निर्माण गरि तयारीलाई तीव्रता दिईएको गैँडाकोट जेसीज वर्ष २०२४ का अध्यक्ष राजेश पौडेलले जानकारी दिनुभयो । सम्मेलनमार्फत गैँडाकोटलाई चिनाउने सुन्दर अवसरको रुपमा लिईएको अध्यक्ष पौडेलले बताउनुभयो ।
यसैबीच सम्मेलनको पूर्व तयारी र आगामी योजनाको विषयमा नेपाल जेसीज क्षेत्र घ का निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरीको उपस्थितिमा गैँडाकोटमा अन्तरक्रिया गरिएको छ । उक्त अवसरमा अग्रहरीले सम्मेलनको हालसम्मको तयारी र आगामी कार्ययोजनाको विषयमा जानकारी लिनुभएको थियो । कार्यक्रममा विभिन्न उपसमितिका संयोजकहरुले आआफ्नो क्षेत्र अन्तरगत भईरहेका तयारीका सन्दर्भमा जानकारी गराउनुका साथै सम्मेलन सम्पन्न गर्न आर्थिक व्यवस्थापनलाई विशेष जोड दिनुपर्ने बताएका थिए ।
राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अग्रहरीले युवाहरु माझ सकरात्मक सन्देश प्रवाह गर्दै जेसीजमा आवद्ध युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्षेत्र घ सम्मेलनले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलन सफल बनाउन आफू पूर्ण रुपमा लागिरहेको पनि उहाँले बताउनुभयो ।
उक्त अवसरमा गैँडाकोट जेसीजको मातृशाखा रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेल, गैँडाकोट जेसीजका पूर्व अध्यक्षहरु प्रमेश आचार्य, रमेश काफ्ले,शंकर अधिकारी, दया सापकोटा लगायतले सम्मेलन सफल पार्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
