२०८२ बैशाख ८, सोमबार
24 खबर अपडेट

ईस्लामी संघ नेपालद्धारा मदिरा तथा लागूऔषध विरुद्ध सप्ताहव्यापी अभियान शुरु

२०८१ अषाढ १२, मंगलबार प्रकाशित (0 महिना अघि) ४०२ पाठक संख्या

मोहन पौडेल
परासी,११ असार । इस्लामी संघ नेपालले मदिरा तथा लागूऔषध विरुद्धको राष्ट्रव्यापी सप्ताह अभियान शुरु गरेको छ । मुलुकमा बढ्दो मदिरा तथा लागूऔषध प्रयोग र यसले निम्त्याएका असरलाई न्यूनीकरणका लागि राष्ट्रव्यापी जनचेतना जगाउन सप्ताह व्यापी अभियान शुरु गरिएको संघले जनाएको छ ।
असार ११ अर्थात आजबाट शुरु भएको यो अभियान नवलपरासीसहित देशैभर आगामी असार १६ गतेसम्म सञ्चालन हुने ईस्लामी संघ नेपाल नवलपरासीका ईन्चार्ज मुख्तार अहमत सेराजीले दैनिक ट्वान्टीफोर खबरलाई जानकारी दिनुभयो । नशालु तथा लागूऔषधको सेवन नेपालमा प्रतिबन्धित हुनुका साथै अपराधजन्य कार्य रहेको र यसले थप अपराधका घटनाहरु पनि जन्माउने भएकोले यसको निर्मूल गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
ईस्लामी संघले देशभर जनचेतना जगाउँदै मदिरा तथा लागूऔषधको प्रयोगलाई निरत्साहित गर्न आग्रह गरेको छ । लागूऔषधको नियन्त्रण गरि वर्तमान र भविष्यका कर्णधार युवाको जीवनलाई जोगाउनुपर्ने संघको धारणा छ । ६ बुँदे सन्देश प्रवाह गर्दै संघले लागूऔषध र मदिराजन्य पदार्थको प्रयोगले समग्र समाज र राष्ट्र नै आक्रान्त बनेको उल्लेख गरेको छ ।
लागूऔषधको दुव्र्यसनीबाट युवापुस्तालाई बचाउन सके समाजमा हुने विकृति, विसंगती नियन्त्रण हुनुका साथै विभिन्न अपराधका घटना पनि न्यूनीकरण गर्न सकिने संघका जिल्ला ईन्चार्ज सेराजीले बताउनुभयो । ईस्लामी संघले मादक तथा लागूपदार्थको उत्पादन, व्यापार, आयात निर्यात र प्रयोगमा कडा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेको छ । यस्ता कार्यमा संलग्नलाई कडा कारवाही गर्न पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ । यस अभियानलाई आआफ्नो ठाउँबाट सहयोग गरि लागूऔषध मुक्त समाज बनाउने अभियानमा जिम्मेवारी भूमिका निर्वाह गर्न आम नागरिकमा संघले आह्वान गरेको छ भने यस किसिमका वस्तुहरुको प्रचारप्रसारमा स्थान नदिन मिडियाहरुलाई पनि आग्रह गरिएको ईस्लामी संघ नेपालका अध्यक्ष एवं अभियानका संयोजक सेराज अहमत मुस्लिमले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस