२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नारायणी पारी सुस्ता जोड्ने झोलुंगे पुलमा मोटरसाईकलको चापले पुल कमजोर हुने जोखिम

२०८१ अषाढ १०, आईतबार प्रकाशित ( महिना अघि) ५८४ पाठक संख्या

मोहन पौडेल
परासी, ९ असार । नवलपरासीस्थित नारायणी पारीको सुस्ता गाउँलाई नेपाली भुमिसँग जोड्ने गरि झोलुंगे पुल निर्माण भएपछि सुस्तावासी हर्षित भएका छन् । सुस्ता गाउँपालिकाको वडा नं. ५ स्थित पक्लिहवा र सोही वडाको सुस्ता गाउँ जोड्ने गरि नारायणी नदिमा बनेको यो पुल दश वर्षमा निर्माण सम्पन्न भएको हो ।
यो पुललाई नेपालको सबैभन्दा लामो झोलुंगे पुल दाबी गरिएको छ । सुस्ताको लाईफलाईनको रूपमा हेरिएको यो पुलको माध्यमबाट नारायणी नदि पारीका सुस्तावासीको जीवनस्तर उकासिने बिश्वास गरिएको सुस्ता बचाउ अभियानका कार्यबाहक अध्यक्ष आदम खाँले बताउनुभयो ।
सुस्तामा पुल बन्नुअघिसम्म नारायणी नदिमा ढुँगाको माध्यमबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । भारतीय बाटो प्रयोग गरि जाँदा भारतीय एसएसबीको अनेक कष्ट र यातना ब्यहोर्नु परेका सुस्ताबासी पुल बनेपछि भने हर्षित बनेका हुन् । सुस्तामा पुल बनेपछि सुस्तावासीको जीवनस्तर सहज हुनेमात्र नभई अब सुस्ता गाउँ पर्यटकीय स्थलको रुपमा विकास हुने गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय बताउनुहुन्छ ।
सुस्तामा पुल निर्माणको सबै काम नसकिँदै पुलमा आवातजावत गर्नेको भीड लाग्न थालेको छ । दैनिक सयौँ मानिसहरु पुल अवलोकन गर्न पुग्ने गरेका छन् । पैदल यात्रुका लागि डिजाईन गरिएको यो पुलमा विशेषगरि भारतीय मोटरसाईकलको अत्याधिक आवातजावत हुनथालेको भने पुल कमजोर हुने जोखिम बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् ।
पुलले प्रतिमिटर ३६० किलोग्राम मात्र भारबहन गर्न सक्छ । पुलमा अत्याधिक मात्रामा मोटरसाईकल तीव्र गतिमा आवातजावत गर्दा पुल कमजोर हुने निर्माण पक्षले जनाएको छ । यो पुल मान्छेमात्र हिँडने गरि डिजाइन गरिएको भएपनि भारतीयहरू एउटै मोटरसाइकलमा ४ जनासम्म चढने र सामान ढुवानी गर्दा ३—४ क्विन्टलसम्म लादेर पुलमा ओहोर–दोहोर गर्दा पुलको लठ्ठा कमजोर हुने, नटबोल्ट ढिला हुने लगायतका समस्या आउन सक्ने प्राविधिकहरुले बताएका छन् ।
नारायणी पारीको सुस्ता भारतीय सीमा विहारसँग जोडिएको छ । विहारमा खाद्य सामग्री देखि अन्य घरायसी प्रयोजनमा प्रयोग हुने सामग्री उत्तर प्रदेशको तुलनामा महँगो पर्ने भन्दै बिहारका बासिन्दाहरु बजार गर्नको लागि यहि पुलको माध्यमबाट उत्तर प्रदेशका बजारहरूमा ओहोर–दोहोर गर्न थालेपछि पुललाई चाप परेको सुस्ता गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताउनुभयो ।
अधिकांस भारतीय मोटरसाइकलले पुलको भार बहन क्षमता भन्दा बढी सामान ओसारपसार गरिरहदा पुल कमजोर हुने भन्दै सम्बन्धित ठेकेदार कम्पनीले पनि सुस्ता गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष उपाध्यायले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा समेत यस विषयमा जानकारी गराएको र अनुगमन र नियन्त्रणको लागि पहल गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको जानकारी दिनुभयो ।
पुल बन्न नपाउँदै सवारी सधानको अत्याधिक चाप र भारले पुलको आयु घटाउने झोलुंगे पुल महाशाखाका प्रमुख ईन्जिनिर कुमार थापाले बताउनुभयो । झोलुङ्गे पुल मोटरसाइकल वा अन्य इन्जिनयुक्त सवारीको आवागमनको लागि निर्माण गरिएको नभई केवल मान्छे, पशु चौपायाहरूमात्र ओहोर दोहोर गर्नको लागि बनाईने उहाँले बताउनुभयो । मोटरसाइकल वा अन्य इन्जिनयुक्त सवारीको अवागमनले पुल नै भाइब्रेट (थर्थराहट) गराउने र पुलमा प्रयोग गरिएका लठ्ठा, नटबोल्टहरू कमजोर भई पुलको आयु घट्ने उहाँको भनाई छ । तर नेपालको पुलमा भारतीयहरूको रजगज चल्न थालेपछि प्रशासन गुहार्न बाध्य हुनुपरेको सुस्तावासीको भनाई छ ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले पुलमा सवारी आवातजावत नियन्त्रण गर्ने गरि पहल थालिएको बताउनुभएको छ । पुलको भारबहन क्षमतालाई मध्यनजर गर्दै प्रहरीको निगरानी हुने गरि चेक पोष्ट स्थापना गर्ने र अटेर गर्नेलाई जरिवाना गर्ने गरि प्रशासनसँग पहल भएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सुस्ता पुलमा मोटरसाईकलको अत्याधिक चाप बढेको गुनासो आएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानी बढाएर नियन्त्रण थालिसकिएको जानकारी दिनुभयो ।
करिब रु २३ करोड लागतमा निर्माण सम्पन्न भएको सुस्ता झोलुंगे पुलको लम्बाई १ हजार ५ सय ७१ मिटर रहेको छ भने चौडाई १ दशमलव ६ मिटर रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%२%२%

प्रतिक्रिया दिनुहोस