

परासी, २० फागुन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीको छैठौँ वार्षिक जिल्लासभा बर्दघाटमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी बर्दघाट उपशाखाको आतिथ्यमा आज सम्पन्न भएको जिल्ला सभाले जिल्ला शाखाबाट गत एक वर्षको अवधिमा भएका गतिविधिहरुको समिक्षा गर्दै आगामी कार्ययोजनाहरु पारित गरेको छ ।
जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीको सभापतित्व तथा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त सभामा जिल्ला सभापति अग्रहरीले वार्षिक प्रतिवेदन, मन्त्री ऋषिराम सुवेदीले वार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रामकुमार गुप्ताले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
जिल्ला सभापति अग्रहरीले रेडक्रसको संस्थागत हित र मानवीय सेवामा जिल्ला शाखा निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउन जिल्लाका सातै स्थानीय तहसँग सहकार्य गरिरहेको, जिल्ला शाखाको आर्थिक वृद्धि र स्थानीय सरकार संलग्नता रहने उद्देश्यसहित सात वटै स्थानीय सरकारलाई संस्थागत सदस्यता प्रदान गरिएको, रामग्राम नगरपालिकाको सहयोगमा निर्माण गरिएको गोदाम घरमा तल्ला थप्ने कार्य भईरहेको, सभाहल निर्माणका लागि तीनै तहका सरकारसँग आवश्यक पहल भईरहेको सभापति अग्रहरीले जानकारी दिनुभयो ।
यस्तै रक्त सञ्चार सेवा केन्द्रमा सेतो रगत बनाउका लागि आवश्यक उपकरण जडान गर्नका लागि प्रदेद र संघीय सरकारसँग पहल गरिएको, रेडक्रसको केन्द्रसँगको समन्वयमा स्वस्थ्य तथा जलवायु परिवर्तनको क्षेत्रमा सुधारका लागि परियोजना सञ्चालन हुने तयारीमा रहेको समेत अग्रहरीले बताउनुभयो ।
यस्तै जिल्ला शाखाका मन्त्री सुवेदीले पश्चिम नवलपरासीमा हालसम्म १६ वटा उपशाखा र रेडक्रसका आजिवन सदस्य पाँच हजार ६६४ जना, विशिष्ट सदस्य ५३ जना र यशस्कर सदस्य तीन जना गरि कूल पाँच हजार ७२० सदस्य रहको जानकारी दिनुभयो । मन्त्री सुवेदीले जिल्ला शाखाबाट एक वर्षको अवधिमा गरिएका विभिन्न क्रियाकलाप, जुनियर युवा रेडक्रस गतिविधि,सेवामूलक गतिविधि, एम्बुलेन्स सेवा, रक्तसञ्चार सेवा, सामाजिक विकासका कार्यक्रम लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
जिल्ला सभामा रेडक्रस कशिया उपशाखाका निवर्तमान सभापति फुल्लन गिरी,बर्दघाट उपशाखाका सभापति नारायणप्रसाद अधिकारी, सुनवल उपशाखाका सभापति गोपाल प्रसाद शर्मा र रामग्राम नगरपालिकाका मेयर धनपत यादवलाई सम्मान गरिएको जिल्ला शाखाका वरिष्ठ अधिकृत मुरारी गुप्ताले जानकारी दिनुभयो ।
जिल्ला सभामा रामग्राम नगरपालिकाका मेयर धनपत यादव, बर्दघाट नगरपालिकाका उपमेयर रुद्रप्रकाश उपाध्याय, रेडक्रस लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, कोषाध्यक्ष हैदरअलि मोमिन, जिल्ला उपसभापति कृष्णप्रसाद लामछिाने, माया अग्रहरी, बर्दघाट उपशाखाका सभापति नारायण अधिकारी, देवगाव उपशाखाका सभापति रामउग्र यादव, कुश्मा उपशाखाका सभापति सुरेन्द्र पटेल,राधा ढकाल, धनञ्जय पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
