

मोहन पौडेल
परासी, २६ मंसिर । युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता विकासमा क्रियाशील अग्रणी संस्था नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा रामग्रामका युवा सन्दिप अग्रहरीले उम्मेदवारी दिनुभएको छ । नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशन यसपटक बुटवल जेसीजको आतिथ्यमा यही मंसिर २९ देखि पुस २ गतेसम्म बुटवलमा हुँदैछ ।
पश्चिम नवलपरासीस्थित रामग्राम जेसीजका पूर्व अध्यक्ष अग्रहरी सन् २०२२ मा जेसीजको राष्ट्रिय उपाध्यक्ष हुनुभएको थियो ।रामग्राम जेसीजको प्रस्तुतीमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लाग्नुभएका अग्रहरी लामो समयदेखि जेसीज अभियानमा सक्रिय हुनुहुन्छ ।
रामग्रामका आश लाग्दा युवा अग्रहरी सन् २०२० मा शाखा अध्यक्ष हुँदा कोरोना महामारीलाई पनि अवसरको रुपमा लिँदै जेसीज अभियान र सामाजिक कार्यसहित आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउनुभएको थियो । सन २०२२ मा राष्ट्रिय उपाध्यक्ष हुँदा समेत अग्रहरीले आफ्नो निरुपित शाखाहरुमा तालिम लगायतका कार्यक्रम मार्फत जेसीजप्रतिको आकर्षण र शाखाहरुको दिगोपनाका लागि महत्वपूर्ण योगदान गर्नुभएको थियो ।
यस क्षेत्रका युवाहरु माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल अग्रहरी युवाहरुको नेतृत्व र उद्यमशीलतामा जोड दिन आफूले राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुहुन्छ । व्यवसायिक क्षेत्रमा सक्रिय अग्रहरी कुरा भन्दा काम गर्न रुचाउने र सामूहिक नेतृत्वमा विश्वास गर्नुहुन्छ । आफू निर्वाचित भएमा जेसीजको रुपान्तरण र पृथक पहिचान बनाउने गरि काम गर्ने बताउँदै उहाँले आफूलाई निर्वाचित गराउन देशभरका जेसीज अभियान्ताहरुलाई आग्रह गर्नुभएको छ ।
यसैबीच रामग्राम जेसीज र रामग्राम महिला जेसीजले मंगलबार एक कार्यक्रम गरि उम्मेदवार अग्रहरीहरुलाई जितको शुभकामना व्यक्त गरेका छन् । रामग्राम जेसीजका अध्यक्ष बेनीमाधव बस्याल, रामग्राम महिला जेसीजका अध्यक्ष जोगमाया चौधरी, रामग्राम जेसीजका पूर्व अध्यक्ष एवं उम्मेदवार प्रवद्र्धन समितिका संयोजक गिरीराज पाण्डेय, रामग्राम जेसीजका निवर्तमान अध्यक्ष अनिल कुमार उपाध्याय,पूर्व अध्यक्ष सुमनगोपाल आचार्य,यमकुमारी सुवेदी,रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष लक्ष्मी क्षेत्री, पुष्पा लामा लगायतले शुभकामना व्यक्त गर्दै रामग्राम जेसीज र रामग्राम महिला जेसीज तथा दुवै शाखाका पूर्व अध्यक्षहरु समेत एक भएर विजयी हासिल गर्न लागिपरेको बताउनुभएको रामग्राम जेसीजका महासचिव विष्णुराज रावले बताउनुभयो ।
सन् २००० मा स्थापित रामग्राम जेसीजको प्रतिनिधित्व गर्दै यसअघि सिनेटर श्रीधर बस्याल सन् २०१८ को राष्ट्रिय अध्यक्ष निर्वाचित हुनुभएको थियो भने विगतका वर्षहरुमा संस्थापक अध्यक्ष श्यामकुमार बस्याल राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा पूर्व अध्यक्ष यमकुमारी सुवेदी राष्ट्रिय उपाध्यक्ष पदमा विजयी हुनुभएको थियो । जेसीजको महाधिवेशनले देशभरबाट एक जना राष्ट्रिय अध्यक्ष, चार जना राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र १२ जना राष्ट्रिय उपाध्यक्षहरु निर्वाचित गर्छ भने महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहकार अध्यक्षले मनोनीत गर्ने प्रावधान छ ।
