२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

समुदायमा क्षयरोगका बिरामी खोज्दै रामग्राम नगरपालिका

२०८० कार्तिक २२, बुधबार प्रकाशित (0 महिना अघि) ४२० पाठक संख्या

मोहन पौडेल
परासी, २२ कात्तिक । क्षयरोगमुक्त नगर बनाउने उद्देश्यसहित पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले क्षयरोगका बिरामीको पहिचान र न्यूनिकरण अभियान सञ्चालन गरेको छ । क्षयरोगको जोखिम समूह तथा स्वास्थ्य पहुँच कम भएका समुदायमा सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम मार्फत नगरमा लुकेर रहेका क्षयरोगीको खोजी थालिएको हो ।
नगरका ग्रामीण क्षेत्रमा शिविर सञ्चालन गरेर क्षयरोगका विरामी खोज्ने काम गरिएको रामग्राम नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो । रामग्राम नगरपालिकासहित पश्चिम नवलपरासी जिल्लामै क्षयरोगीका बिरामी उच्च रहेको तथ्यांकलाई मध्यनजर गर्दै समुदायमा रहेको क्षयरोगको जोखिमलाई समयमै निदान गर्न खोजपड्ताल कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई थियो ।
“समुदायमा क्षयरोगका बिरामी लुकेर रहँदा उनीहरुले अन्य स्वस्थ मानिसहरुलाई पनि सार्न सक्ने जोखिम रहने भएकोले समुदायमा व्यापक रुपमा क्षयरोग फैलिन नदिन तथा पहिचान हुन नसकेका रोगीहरुलाई खोजेर उपचारको दायरामा ल्याउन हामीले यो अभियान सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।
सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गरेर सम्भावित क्षयरोगका लक्षण मिल्ने व्यक्तिहरुको खोजी खकार संकलन गरिएको थियो । विगतमा खोजपड्ताल गरिएको स्थान भन्दा बाहेकका विभिन्न चार स्थानमा गरिएको शिविरबाट १५० जनाको खकार संकलन परी परीक्षणका लागि पठाईएको जनस्वास्थ्य निरीक्षक हरिजनले जानकारी दिनुभयो । खकार परीक्षणको नतिजा मंसिर पहिलो साता प्राप्त हुने उहाँको भनाई छ ।
कात्तिक १९ गतेदेखि शुरु गरिएको अभियान अन्तरगत रामग्राम–१५ शुक्रौली चोक, २० गते रामग्राम–९ जोकवार, २१ गते रामग्राम–१८ धरमपुर र २२ गते रामग्राम–१२ जमुवाडमा खोजपड्ताल शिविर सञ्चालन गरिएको शुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले बताउनुभयो । खकार परीक्षणबाट क्षयरोग पत्ता लागेमा त्यस्ता बिरामीको निःशुल्क उपचार गरिने उहाँले बताउनुभयो । “रोगी पत्ता लागेमा डट्स विधिबाट निःशुल्क रुपमा ६ महिनासम्म उपचार गरेर पूर्ण निको गराउन सकिन्छ”, उहाँले भन्नुभयो । रामग्राम नगरपालिकाले गत वर्ष पनि क्षयरोगका बिरामीको खोजपड्ताल गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस