२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रेडियो परासीको १६ औँ वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम,पूर्वमन्त्री त्रिपाठीद्धारा उद्घाटन

२०८० कार्तिक १७, शुक्रबार प्रकाशित (0 महिना अघि) ४६७ पाठक संख्या

परासी, १७ कात्तिक । पश्चिम नवलपरासीको सबैभन्दा पूरानो रेडियो, सामुदायिक रेडियो परासीले आफ्नो १६ औँ वार्षिकोत्सव तथा साधारणसभा सप्ताहव्यापी कार्यक्रमका साथ मनाउने गरि आजदेखि शुभारम्भ गरेको छ । परासी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित रेडियो परासीले आज परासीमा एक कार्यक्रम गरि वार्षिकोत्सव, सप्ताहव्यापी कार्यक्रम र साधारसभा एवं अधिवेशनको उद्घाटन गरेको हो ।
उक्त कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाल सरकारका पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मिडियाले जवाफदेही र विश्वसनीता कायम राखेर अघि बढ्नुपर्ने बताउनुभयो । देशको वर्तमान संकटपूर्ण अवस्थामा मिडिया क्षेत्र पनि प्रभावित हुन पुगेको उल्लेख गर्दै पूर्वमन्त्री त्रिपाठीले चुनौतीलाई सामना गरेर अघि बढ्न र सञ्चारमाध्यमलाई सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।
जनता प्रगतिशील पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहनुभएका त्रिपाठीले नेपालको संविधान अहिले वेवारिसे अवस्थामा रहेको टिप्पणी गर्नुभयो । संविधान जारी गर्ने दलहरुले नै संविधानको स्वामित्व लिन छोडेको र जसले पनि संविधानको आफू अनुकूल व्याख्या गरेर संविधानलाई लावारिस बनाएको उल्लेख गर्दै नेता त्रिपाठीले मिडिया क्षेत्रले यस विषयमा विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो ।
रेडियो परासीका अध्यक्ष सुमनगोपाल आचार्यले रेडियोलाई आजसम्मको अवस्थामा ल्याई पुर्याउन सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटनको अवसरमा रेडियोलाई निरन्तर विज्ञापन दिने विज्ञापनदाता, सहकार्य गर्ने संघ संस्था, नियमित स्रोता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।
रेडियोले यसपटक सप्ताहव्यापी कार्यक्रमका साथ वार्षिकोत्सव मनाउन शुरु गरेको उपाध्यक्ष राजकुमार रेश्मीले जानकरी दिनुभयो । उहाँका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज उद्घाटन गरिएको छ भने भोली कात्तिक १८ गते सरावलमा बालबालिका सम्बन्धी स्वस्थ्य शिविर, १९ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता, २० गते बजार क्षेत्रमा सिमेन्टको कुर्सी राख्ने, २१ गते भूमहीमा जिल्लाका मिडिया सञ्चालकसँग अन्तरक्रिया गर्ने, २२ गते ट्राफिक सचेतना र २३ गते साधारसभाको बन्द शत्र तथा नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।
२०६५ कात्तिक १७ गते तत्कालिन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले रेडियो परासीको उद्घाटन गर्नुभएको थियो । रेडियोले सोही दिनलाई वार्षिकोत्सवको रुपमा मनाउँदै आएको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस