२०८३ बैशाख २६, शनिबार
24 खबर अपडेट

नवलपरासीमा चाडपर्व लक्षित बजार अनुगमन तीब्र, व्यवसायीलाई सचेत गराइँदै

२०८० आश्विन २३, मंगलबार प्रकाशित ( साल अघि) ९५६ पाठक संख्या

मोहन पौडेल
परासी, २३ असोज । चाडपर्वलाई लक्षित गरि पश्चिम नवलपरासीमा बजार अनुगमन तीब्र पारिएको छ । चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरि मूल्य बढाउने,गुणस्तरहीन तथा म्याद नाघेका सामान विक्री वितरण गर्ने,नापतौलमा ठगी गर्ने जस्ता समस्या नियन्त्रण गर्न बजार अनुगमन तीव्र बनाईएको हो ।
सोही क्रममा आज पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र सरावल तथा पाल्हीनन्दन गाउँपालिकाका ग्रामीण क्षेत्रका बजारमा संयुक्त अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, सञ्चारकर्मी, सुरक्षाकर्मीसहितको संयुक्त बजार अनुगमन टोलीले रामग्रामको वडा नं.१७ पट्खौली बजार, सरावलको वडा नं.३ सरावल, गोबरहिया,पाल्हीनन्दनको बेलाशपुर लगायतका बजारमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।
चाडपर्वलाई मध्यनजर गर्दै खाद्यन्न, होटल तथा मिष्ठान पसललाई बढी केन्द्रीत गरेर अनुगमन गरिएको उहाँले बताउनुभयो । “चाडपर्वमा हुन सक्ने कृत्रिम अभाव,मूल्य वृद्धि, मिसावट, म्याद नाघेका सामानको विक्री वितरण, नापतौलमा ठगी लगायत नियन्त्रण गर्न अनुगमनलाई तीव्रता दिएका छौँ”, प्रमुख पौडेलले भन्नुभयो ।
चाडपर्वको बेला उपभोक्ताको बढी भिडभाड हुने खाद्यन्न, लत्ताकपडा, मिठाई तथा होटल व्यवसायीले कालोबजारी, मूल्यवृद्धि, मिसावट गरि उपभोक्ता ठगी गर्ने गरेकोले नवलपरासीका शहर तथा ग्रामीण सबै क्षेत्रका बजारमा छड्के अनुगमन गरिरहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पौडेलको भनाई छ ।
आज तीनै पालिकामा गरि १६ वटा पसलमा अनुगमन गरिएकोमा अधिकांश पसलहरुमा मूल्यसूची नभएको, कतिपय दर्ता बिनै सञ्चालनमा रहेको, कतिपयको नवीकरण नभएको, लेबलिङ्ग नभएको तथा गुणस्तरहीन बस्तुको विक्री गरिरहेको लगायतका समस्या देखिएकोले आगामी दिनमा यस्ता गल्ती नदोहार्याउन सचेत गराईएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज चौधरीले बताउनुभयो ।
चाडपर्वलाई लक्षित गरि संयुक्त जिल्ला बजार अनुगमन समितिले घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पौडेलको संयोजकत्वमा उपसमिति निर्माण गरि बजार अनुगमन गर्न जिम्मेवारी दिएको थियो । सोही बमोजिम अनुगमन समितिले यसअघि जिल्लाको सदरमुकाम परासीसहित रामग्राम नगरपालिकाका, बर्दघाट नगरपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस