२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

बोलबालाको प्रभावमा नपर्न प्रहरीलाई सुझाव,सबैको सुन्छौँँ तर कानून बमोजिम गर्छाैँ : एसपी आचार्य

२०८० आश्विन १८, बिहिबार प्रकाशित ( महिना अघि) ३७० पाठक संख्या

मोहन पौडेल
परासी, १८ असोज । पश्चिम नवलपरासीका नागरिकले पहुँचवाला र बोलबालाको प्रभावमा नपरी काम गर्न प्रहरीलाई सुझाव दिएका छन् । जिल्ला प्रहरी कार्यालयले आज रामग्राम–४ जीतपुरमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि नागरिकले लागूऔषध ओसारपसार, चोरी पैठारी लगायतका कार्यलाई निरुत्साहित गर्न पनि जोड दिएका थिए ।
नेपाली कांग्रेसका नेता राजेन्द्र सहानीले बोलबालाको प्रभावमा नपरी निष्पक्ष काम गर्न जोड दिनुभयो । विगतमा जो कोही पनि प्रहरी कार्यालय निर्धक्क जान डराउने गरेको तर पछिल्लो समय अपराधी पनि सजिलै प्रहरी कार्यालयमा छिर्ने गरेको भन्दै उहाँले कुनै पनि राजनीतिक तथा पहुँचवालाको प्रभावमा नपरी निष्पक्ष काम गर्नुपर्ने बताउनुभयो ।
पाल्हीनन्दन–३ का वडा अध्यक्ष गोधनप्रसाद हरिजनले राजनीतिक दलले गलत गर्ने व्यक्तिलाई पनि संरक्षण गर्ने प्रवृत्ति बढ्दै गएको र त्यस्ता व्यक्तिले प्रहरीलाई पनि प्रभावमा पार्न सक्ने जिकिर गर्नुभयो । पहुँचवालाले शक्ति र सत्ताको दुरुपयोग गरि प्रहरीलाई प्रभावमा पार्न खोजेपनि प्रहरी प्रभावमा पर्न नहुने उहाँको जोड थियो ।
जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले लागूऔषधको कारोबार नियन्त्रण नभएसम्म अपराध न्यूनीकरण नहुने भन्दै सीमा क्षेत्रमा आवातजावात गर्ने शंकास्पद युवाहरुलाई विशेष निगरानी गर्न आग्रह गर्नुभयो । उहाँले चुरे क्षेत्रका नदी खोलाबाट अवैद्य रुपमा ढुंगा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थको चोरी निकासी बढिरहेको भन्दै त्यस्ता कार्यलाई नियन्त्रण गर्न प्रेभावकारी कदम चाल्न सुझाव दिनुभयो ।
रामग्राम–४ की शुशिला क्षेत्रीले आफ्नो घरायसी प्रयोेजनका लागि भारतीय बजारबाट थोरै थोरै सामान ल्याउँदा पनि भन्सार र प्रहरीले महिलालाई बढी दुःख दिने गरेको गुनासो गर्नुभयो । रामग्राम–६ का वडा अध्यक्ष विद्यासागर त्रिपाठीले कृषकले भारतबाट एक दुई बोरा मल ल्याउँदा अवरोध गर्न नहुनेमा जोड दिँदै ट्राफिक चेकजाँच डिजिटल प्रविधिमा लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो ।
रामग्राम–४ का वडा अध्यक्ष मदन यादवले बीच सडकमा गाडि रोकेर ट्राफिक चेकिङ्ग गर्दा जाम हुने गरेको बताउँदै चेकिङ्ग कार्यलाई व्यवस्थित रुपमा गर्न जोड दिनुभयो । उहाँले बजार क्षेत्रमा लगाईएका सीसीटिभीको फुटेज सफा नदेखिँदा पहिचानमा समस्या भएकोले क्यामराको गुणस्तर सुधार गर्न आग्रह गर्नुभयो । नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवारले पछिल्लो समय तस्करी केही हदसम्म नियन्त्रणमा आएको भन्दै यसलाई कायमै राख्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागिहरुले ग्रामीण क्षेत्रमा रहेका प्रहरी चौकीमा महिला प्रहरी राख्नुपर्ने,लागूऔषधको ओसारपसार तथा दुव्र्यसनी नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने, सवारी साधन चोरी गर्नेको विशेष निगरानी गरि कारवाही गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए ।
नागरिकका जिज्ञासाको जवाफ दिँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जहिले पनि नागरिकलाई केन्द्रमा राखेर प्रहरीले काम गर्ने गरेको बताउनुभयो । नागरिकले प्रहरीबाट धेरै अपेक्षा र विश्वास गरेकै कारण कानूनले तोकेका भन्दा बढी अर्थात एक हजार भन्दा बढी काम प्रहरीले गरिरहेको उहाँले बताउनुभयो ।
प्रहरीले नागरिकका आएका सुझाव अनुसार सुधार गर्दै जाने बताउनुभयो । लागूऔषधको कारोबार बढ्दै जाँदा प्रहरी पनि चिन्तित रहेको बताउँदै एसपी आचार्यले लागूऔषध कारोबारीको विषयमा सूचना दिन आग्रह गर्नुभयो । सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न प्रहरी लागिपरेको बताउँदै उहाँले भारतबाट घरासयी सामान ल्याउने तथा एक दुई बोरा मल ल्याउनेलाई कडाई नगरेपनि त्यही बहानामा अवैद्य कारोबार गर्नेलाई भने प्रहरीले नछाड्ने बताउनुभयो ।
सुकिला मुकिलालाई मात्र राम्रो व्यवहार गरिन्छ भन्ने कुरामा आफू सहमत नरहेको भन्दै एसपी आचार्यले सामन्य भन्दा पनि सामान्य गरिब वर्गका नागरिकको सेवामा प्रहरी समर्पित हुन चाहेको बताउनुभयो । प्रहरीलाई चिनेजानेका व्यक्तिहरुले प्रभावमा पार्न खोजे पनि आफूहरुले सबैको कुरा सुन्ने तर कानूनले गर भनेका कुरा मात्र गर्ने गरिएको उहाँले दाबी गर्नुभयो ।
प्रहरी सेवामा आम नागरकको पहुंँच सुनिश्चित गराउन र नेपाल प्रहरीले सम्पादन गरेका काम कारवाहीका विषयमा आम नागरिकलाई सूसुचित गराउने, कमजोरीलाई सुधार गर्दै जाने उद्देश्यले “सावजिनक सुनुवाई” कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।
रामाम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाका वडा अध्यक्षहरु, नागरिक समाज, समाजसेवी, पत्रकार, सर्वसाधारण नागरिक लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा डिएसपी बोहराले चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको काम कारवाहीको विषयमा जानकारी गराउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस