२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नगरपालिका विधिमा चलेन : वडा अध्यक्ष यादव

२०८० आश्विन ८, सोमबार प्रकाशित ( महिना अघि) १९७७ पाठक संख्या

परासी, ८ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका लेखा समिति संयोजक एवं वडा नं.१५ का वडा अध्यक्ष धनपत यादवले नगरपालिका विधिमा नचलेको आरोप लगाउनुभएको छ । कार्यपालिकाको निर्णय विनै नियम मिचेर काम गर्न थालिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।
वडा अध्यक्ष यादवले आज पत्रकार सम्मेलन गर्दै रामग्राम नगरपालिका प्रक्रियागत रुपमा नचलेको भन्दै नियम विपरितका कार्यहरु सच्याउन आग्रह गर्नुभएको हो । पत्रकार सम्मेलनमा वडा अध्यक्ष यादवले खासगरि पछिल्ला चार वटा विषयमा आफ्नो गम्भीर असहमति रहेको बताउनुभयो ।
अध्यक्ष यादवले लामो समयदेखि पूर्णता नपाएको नगर शिक्षा समितिले नियम विपरित विद्यालय व्यवस्थापन समितिको नियुक्ती, शिक्षक सरुवा लगायतका कार्यहरु गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रामग्राम नगरपालिकामा अहिले सबैभन्दा खराब अवस्था शिक्षामा छ, नगर शिक्षा समितिले डेढ वर्षसम्म पनि पूर्णता पाएको छैन्, आफैमा पूर्ण नभएको समितिले विद्यालय व्यवस्थापन समिति र शिक्षक सरुवा गर्नु कसरी वैधानिक हुन्छ ? केही विद्यालयमा झण्डै एक वर्षदेखि अध्यक्ष चुनिएको छैन्,शैक्षिक क्षेत्र लथालिंग छ, यस्तो कार्यले शैक्षिक सुधार कसरी हुन्छ ?”
अपूर्ण नगर शिक्षा समितिले कानून मिच्ने काम गरेको भन्दँै आफूले नगरपालिकाको नेतृत्वलाई पटकपटक ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको उहाँको गुनासो थियो । जनता मावि शुक्रौलीमा नौ महिनासम्म अध्यक्ष नियुक्त नगरिँदा पठनपाठन प्रभावित भएको बताउँदै वडा अध्यक्ष यादवले आफूले आज पत्रकार सम्मेलन गरेपछि मात्र शिक्षा समितिले आजै अध्यक्ष नियुक्त गरेको बताउनुभयो ।
वडा अध्यक्ष यादवले कर्मचारी भर्नाको विषयमा पनि प्रश्न उठाउनुभएको छ । नगरपालिकाले विज्ञापन नै नगरी र कार्यपालिकाको निर्णय विनै कर्मचारी नियुक्ती गरिरहेको उहाँले बताउनुभयो । भर्ना गरिएका कर्मचारी पनि स्थानीय भन्दा बाहिरका राखिएको भन्दै उहाँले प्रक्रियागत रुपमा चल्न सुझाव दिनुभयो ।
नगरपालिकाका लेखा समिति संयोजक रहनुभएका वडा अध्यक्ष यादवले नगरले बेरुजु असुल उपर गर्न समेत चासो नदेखाएको तर्क गर्नुभयो । नगरपालिका स्थापना भएदेखि हालसम्म करिब १५ करोड बेरुजु रहेको तर बेरुजु असुल उपर गर्न नगरले चासो नदिएको उहाँको भनाई थियो । लेखा समितिले बेरुजु असुल उपर गर्न निर्णय गरेर माथिल्लो तहमा सिफारिस गरेकोे बताउँदै उहाँले बेरुजु उठाउन चासो नदिँदा यसले नगरको बजेट विनियोजनमा असर गर्नुका साथै राजस्व संकलनमा गिरावट आएको बताउनुभयो ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने मूल्यांकन समितिको नाममा अनियमित रुपमा भत्ता बाँडिएको उहाँले बताउनुभएको छ । पाँच सदस्यीय मूल्यांकन समितिका पदाधिकारीले गत आर्थिक वर्षमा एक वर्षको अवधिमा करिब २५ लाख रुपैँया भत्ता बुझेको वडा अध्यक्ष यादवले बताउनुभयो । नियमाअनुसार एक दिनमा एक पटक मात्र भत्ता बुझ्न सकिन्छ तर समितिका पदाधिकारीले एक दिनमा तीन पटकसम्म भत्ता बुझेको रेकर्डमा देखिएको उहाँले बताउनुभयो ।
यस विषयमा पनि लेखा समितिले यथार्थ विवरण झिकाई अनुचित तवरले भत्ता बुझेको भए जनताको पैसा असुल उपर गर्न भनेको उहाँले जानकारी दिनुभयो । “एकैदिनमा एउटै शीर्षकमा तीन पटकसम्म भत्ता बुझ्ने काम गलत हो, नियम मिचेर हरेक काम भईरहेको छ, नगरपालिकामा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि पत्रकार सम्मेलन गर्नुपरेको हो”, उहाँले भन्नुभयो ।
वडा अध्यक्ष यादवले नगरपालिकाले पछिल्लो समय गठन गरेको विज्ञ सहितको कृषि सुधार समिति, शिक्षा सुधार समिति समेत कार्यपालिकाको निर्णय बिनै गठन भएको जिकिर गर्नुभएको छ । उहाँले भन्नुभयो, “विज्ञ समितिका राखिएका व्यक्तिहरुप्रति विरोध होईन तर नियुक्तीको प्रक्रिया मिलेन, कार्यपालिकाबाट निर्णय गराईएन, निमाविको शिक्षकलाई विज्ञ टोलीमा राखेर मावि प्रथम श्रेणीका शिक्षकको मूल्यांकन कसरी गर्न सकिन्छ ? पदीय मर्यादा नराखि टोली गठन गर्दा शिक्षकमा निराशा छायो, यसले पालिका माथी व्ययभार थप्ने काम भयो, कार्यपालिकाको निर्णय विनै सबै काम गर्ने भए कार्यपालिका सदस्यहरु किन राखियो?”
नियम विवरित भत्ता बुझेको विषयमा जिज्ञासा राख्दा रामग्राम नगरपालिकाका आन्तरिक लेखा परीक्षक रामसुवास गुप्ताले मूल्यांकन समितिका सदस्यले एकै दिनमा तीन पटकसम्म भत्ता बुझेको कुरा यथार्थ भएको बताउँदै नियम विपरितको भत्ता असुल उपर गर्न भनेको जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४०%२%७%४%

प्रतिक्रिया दिनुहोस