२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

चाडपर्व शुरु भएसँगै पश्चिम नवलपरासीमा बजार अनुगमनको तयारी

२०८० भाद्र २५, सोमबार प्रकाशित ( साल अघि) ४९८ पाठक संख्या

मोहन पौडेल
परासी, २५ भदौ । नेपालीहरुको मूख्य चाडपर्व भित्रिएसँगै पश्चिम नवलपरासीमा बजार अनुगमन शुरु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाहरुको बैठकले जिल्लामा नियमित रुपमा बजार अनुगमन गर्ने निर्णय गरेको हो ।
चाडपर्वको मौका छोपी व्यवसायीहरुले महंगी,कालोबजारी, कृत्रिम अभाव, अखाद्य पदार्थको विक्री वितरण जस्ता गतिविधि गरि उपभोक्ता ठग्ने कार्य हुने भएकोले जिल्लामा बजार अनुगमनलाई नियमित बनाउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिनुभयो ।
सहायक प्रजिअ देवकोटाको संयोजकत्वमा स्थानीय तहका उपप्रमुखहरु, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ, नवलपरासी उद्योेग वाणिज्य संघ लगायतका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको उक्त बैठकले नियमित बजार अनगुमन गर्नका लागि एक उपसमिति पनि बनाएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलको संयोजकत्वमा गठित उपसमितिमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, जिल्ला प्रहरी कार्यालय,सम्बन्धित स्थानीय तह, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ लगायतका प्रतिनिधि रहेको उपसमितिले भोली देखि नै नियमित रुपमा बजार अनुगमन गर्ने सहायक प्रजिअ देवकोटाले बताउनुभयो ।
बैठकले सबै स्थानीय तहहरुले आवश्यक कार्ययोजना बनाई एक अर्काबीच समन्वय र सहकार्य गरि चाडपर्वलाई लक्षित गरि नियमित बजार अनुगमन गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य संघले सबै व्यवसायीलाई अनिवार्य दर्ता गरेर मात्र र मूल्य सूची राखी गुणस्तरीय वस्तु मात्र विक्री वितरण गर्न सूचित गर्ने, गैरकानूनी र मुनाफाखोरी कार्यमा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन सबै तह र निकायले सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ । बैठकमा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले जिल्लाभर एकरुपताका साथ बजार अनुगमन गर्न सके प्रभावकारी हुने बताउँदै कतिपय कानूनी जटिलताका कारण बजार अनुगमनलाई चाहेर पनि प्रभावकारी बनाउन समस्या भईरहेको बताउनुभयो ।
रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले बजार अनुगमन नियमित रुपमा हुनुपर्ने बताउँदै अनुगमन कार्यलाई निरन्तरता दिन प्रतिबद्ध रहेको बताउनुभयो । पत्रकार महासंघका अध्यक्ष हरि शर्माले कर्मकाण्डी अनुगमन नभई प्रभाव देखिने गरि अनुगमन गर्न आग्रह गर्नुभयो । उपभोक्ता हित संरक्षण मञ्चकी जिल्ला अध्यक्ष अधिवक्ता सरस्वती शर्माले चाडपर्वको बेला मात्र नभई नियमित रुपमा प्रभावकारी बजार अनुगमन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस