२०८३ बैशाख २६, शनिबार
24 खबर अपडेट

बाबा बर्दगोरिया क्षेत्रको बृहत खोज अनुसन्धान र विकास गर्न सांसद भुसालद्धारा सरकारको ध्यानाकर्षण

२०८० भाद्र २३, शनिबार प्रकाशित ( साल अघि) १३७७ पाठक संख्या

मोहन पौडेल
परासी,२३ भदौ । पश्चिम नवलपरासीको पुरातात्विक एवं धार्मिक स्थल बाबा बर्दगोरिया क्षेत्रको खोज अनुसन्धान र विकास गर्न प्रतिनिधिसभा सदस्य सरिता भूसाल खनालले माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद खनालले बर्दगोरिया क्षेत्रको उत्खनन्, अनुसन्धान, संरक्षण तथा विकासका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
गत जेठमा सुनवल नगरपालिका–११ केरवानीमा अवस्थित बाबा बर्दगोरिया धाम क्षेत्रमा पुरातत्व विभागले उत्खनन् गर्दा प्राचीन शिखर शैलीका भग्नावशेषहरु फेला परेका थिए । पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवाली नेतृत्वको टोलीले दुई हप्ता लगाएर पहिलो पटक गरेको उत्खनन्को क्रममा प्राचीन शिखर शैली मन्दिरको गजुर, पिल्लर, ईनार लगायतका महत्वपूर्ण भग्नावशेष भेटिएको हो ।
प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद खनालले भन्नुभयो, “धार्मिक,ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक धरोहर बर्दगोरिया क्षेत्रमा गरिएको उत्खनन्को क्रममा व्यापक रुपमा पुरातात्विक वस्तुहरु भेटिएको छ, ती वस्तुहरु १२औँ देखि पन्ध्रौँ शताब्दीबीचको भएको अनुमान गरिएपनि पुष्टि हुन जियो फिजिक्स सर्वे गर्नुपर्ने, थप खोज अनुसन्धान बलियो बनाउन र त्यस क्षेत्रको संरक्षण एवं विकास गर्न सरकारको ध्यानाकर्षण गराउँदछु”
धाम क्षेत्रमा २०५२ सालमा भेटिएको तामपत्रमा वि.स.१२१२ मा विजयपुरमा शिवधाम निर्माण गरिएको भनी उल्लेख रहेको छ । यी सबै प्रमाणको आधारमा बर्दगोरिया क्षेत्रको बृहत खोज अनुसन्धान गर्नुपर्ने र पुरातात्विक क्षेत्रको रुपमा विकास गर्नुपर्ने स्थानीयको माग छ ।

https://youtube.com/shorts/9i5HCHQWT-k?si=-aubE23REVrOPLCA

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस