२०८३ आश्विन १६, शुक्रबार
24 खबर अपडेट

रामग्राममा पहिलो पटक आदर्श नमूना माविले शुरु गर्यो कक्षा ११ मा विज्ञान संकायको अध्यापन

२०८० श्रावण १५, सोमबार प्रकाशित (३ साल अघि) १६२८ पाठक संख्या

मोहन पौडेल
परासी,१५ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको आदर्श नमूना माध्यमिक विद्यालयले कक्षा ११ मा विज्ञान संकायको कक्षा सञ्चालन शुरु गरेको छ । विद्यालयले आज एक कार्यक्रम गरी विज्ञान संकायको कक्षा शुरु गरेको जानकारी दिएको हो ।
रामग्राम नगरपालिका भित्र कक्षा ११ मा विज्ञान संकाय अध्यापन गराउने आदर्श नमूना मावि पहिलो विद्यालय हो । विज्ञान संकायको कक्षा शुरुभएसँगै उक्त संकायको लागि निर्माण गरिएको विज्ञान प्रयोगशालाको पनि आजै उद्घाटन गरिएको छ । रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले उक्त प्रयोगशालाको उद्घाटन गर्नुभयो ।
उक्त अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै उपमेयर चौधरीले विज्ञान संकाय अध्ययन गर्न टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । नगरमै विज्ञान संकाय सञ्चालन गर्ने यो एकमात्र विद्यालय भएकोले पनि यसलाई सबै मिलेर सफल पार्नुपर्ने उहाँले बताउनुभयो । उपमेयर चौधरीले विज्ञान संकाय सफल बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेश र संघीय सरकारबाट आवश्यक पर्ने सहयोगका लागि पनि पहल गर्ने उल्लेख गर्नुभयो ।

A22

“यहाँका विद्यार्थीहरु विज्ञान पढ्नै भनेर अब बुटवल,भैरहवा जानुपरेन,यहीँ पढ्न पाउँदा समय र पैसाको पनि बचत भएको छ, तसर्थ पनि हामी सबै मिलेर यसलाई सफल पारौँ”,उहाँले भन्नुभयो । उहाँले विद्यार्थीहरुलाई पनि अनुशासन पूर्वक मेहनत गरेर पढ्न आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटेलाल अग्रहरीले नमूना विद्यालय कार्यक्रम अन्र्तगत विज्ञान संकाय अनिवार्य भएकोले आजदेखि अध्यापन कार्य शुरु गरिएको बताउनुभयो । “जसले विज्ञान पढ्न चाहनुहुन्थ्यो,तर आर्थिक अभाव थियो,घरदेखि धेरै टाढा जानुपथ्र्याे,त्यसकारणले पढ्न पाउनुभएको थिएन,त्यो आवश्यकतालाई आज हामीले पूरा गरेका छौँ”,उहाँले भन्नुभयो ।
अध्यक्ष अग्रहरीले अनुशासित र नियमित भएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष अग्रहरीले छात्राहरुलाई विज्ञान संकायतर्फ आकर्षित गर्न भर्नामा निःशुल्क गरिएको तथा मासिक शुल्कमा पनि पचास प्रतिशत छुट गरिएको जानकारी दिनुभयो ।
हालसम्म कक्षा ११ विज्ञान संकायमा करिब ३० जना विद्यार्थी भर्ना भएको र भर्ना हुने क्रम अझै बढ्ने अपेक्षा गरिएको विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिनुभयो । विज्ञान संकाय सञ्चालनका लागि छुट्टै विज्ञान भवन, प्रयोगशाला तथा जनशक्तिको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । विद्यालयमा विज्ञानसहित कानून, व्यवस्थापन र शिक्षा संकायमा नेपाली र अंग्रेजी दुवै माध्यममा अध्यापन भईरहेको प्रअ भट्टराईले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुलाई ढुक्क भएर अध्ययन गर्ने वातावरण विद्यालयले बनाएको पनि दाबी गर्नुभयो ।
उक्त अवसरमा नगर शिक्षा अधिकृत सुन्दर खनालले विज्ञान संकायको महत्व, विद्यालयले खेल्नुपर्ने भूमिका र नमुना विद्यालयको मापदण्ड लगायतका विषयमा अभिमुखीकरण गर्नुभएको थियो । कार्यक्रममा नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवार,नेपाल सरकारका पूर्व उपसचिव देवेश कुमार मिश्रा,विद्यालय व्यवस्थापन समिति सदस्य सन्तोष श्रीवास्तव लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको विद्यालयका शिक्षक नीरज ज्ञवालीले जानकारी दिनुभयो । सोही अवसरमा विद्यार्थीहरुलाई पुस्तक पनि वितरण गरिएको थियो ।

A2

 

A3

 

A4

 

A5

 

A23

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस


↑