२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस : निजामती कर्मचारी संगठन परासीद्धारा फलफूल वितरण

२०८० श्रावण १५, सोमबार प्रकाशित ( साल अघि) ६१३ पाठक संख्या

मोहन पौडेल
परासी, १५ साउन । नेपाल निजामती कर्मचारी संगठन पश्चिम नवलपरासीले सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस मनाएको छ । दिवसको अवसरमा संगठनले आज परासीस्थित पृथ्वीचन्द्र अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो ।
निजामती कर्मचारीको पेशागत हकहितको सम्बद्र्धनसँगै संगठनले सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै सहिद कर्मचारीको स्मृति दिवसको अवसर पारेर बिरामीलाई फलफूल वितरण गर्नुका साथै बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको संगठनका जिल्ला अध्यक्ष विष्णुप्रसाद ढकालले दैनिक खबरलाई जानकारी दिनुभयो ।
फलफूल वितरण अघि अस्पताल परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले पेशागत हकहितको रक्षाका लागि आवाज उठाउने क्रममा शहादत प्राप्त गरेका कर्मचारीहरुप्रति श्रद्धान्जलीसमेत व्यक्त गर्नुभएको थियो । उहाँले निजामती कर्मचारी संगठनले जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न जोड दिँदै आएको उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अस्पतालका निमित्त मेसु डा.मोहम्मद नुरुल होदाले सम्पूर्ण कर्मचारीहरु जनताको सेवामा समर्पित भएर लागिरहेको बताउँदै सहिद भएका राष्ट्रसेवक कर्मचारीप्रति श्रद्धासुमन अर्पण गर्नुभयो । उहाँले सहिद कर्मचारीले देखाएको बाटोबाट प्रेरणा लिँदै जनताको सेवामा निरन्तर समर्पित हुन पनि आग्रह गर्नुभयो ।
फलफूल वितरण कार्यक्रममा निजामती कर्मचारी संगठन जिल्ला कार्य समितिका पदाधिकारी तथा अस्पतालका स्वास्थ्यकर्मीहरुको समेत सहभागिता रहेको संगठनका जिल्ला सचिव देवीलाल पौडेलले जानकारी दिनुभयो । निजामती कर्मचारीहरुको हकहितका लागि संघर्ष गर्ने क्रममा शहादत प्राप्त गरेका खोटाङ्गका मनोज जोशी,पोखराका झपेन्द्र कार्की र मुगुका सुरेन्द्र विकलाई नेपाल सरकारले २०६४ साल माघ २२ गते सहिद घोषणा गरेपछि उनीहरुको स्मृत्तिमा निजामती कर्मचारी संगठनले प्रत्येक वर्ष स्मृत्ति दिवस मनाउँदै आएको छ ।

N2 N3 N4 N5

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस