२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

अत्याधिक ट्रिपिङ्ग र लो भोल्टेजले उद्योग नै बन्द गर्ने अवस्था आएको उद्योगीको गुनासो

२०८० श्रावण १२, शुक्रबार प्रकाशित ( साल अघि) ४०५ पाठक संख्या

मोहन पौडेल
परासी, १२ साउन । विद्युत आपूर्तिको क्रममा भईरहेको अत्याधिक ट्रिपिङ्ग र लो भोल्टेजका कारण नवलपरासीका उद्योग सञ्चालनमा कठिनाई भएको छ । अत्याधिक ट्रिपिङ्ग र लो भोल्टेजका कारण उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको उद्योगी व्यवसायीको गुनासो छ ।
अत्याधिक ट्रिपिङ्ग र लो भोल्टेजले गर्दा उद्योगका मेसिन, उपकरण विग्रने,उत्पादन घट्ने, कच्चा पदार्थको लागत बढ्ने जस्ता समस्या भोग्नुपरेको नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताउनुभयो । नवलपरासीमा उद्योग स्थापना हुने क्रम बढ्दै गईरहेको अवस्थामा हाल भईरहेकै उद्योगले विद्युतको लापरवाहीका कारण समस्या भोग्नुपरेको उहाँले बताउनुभयो ।
जिल्लामा ठूलाठूला उद्योगहरु भित्रिने क्रम जारी नै रहेको र औद्योगिक वातावरण बनिरहेको बेला विद्युतको आपूर्तिमा अत्याधिक ट्रिपिङ्ग र लो भोल्टेजले उद्योग चलाउनै समस्या भएको उहाँले बताउनुभयो । विद्युत समस्या समाधान नहुँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएपछि नवलपरासी उद्योग वाणिज्य संघले आज प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
उद्योगहरुमा गुणस्तरीय तथा निरन्तर विद्युत आपूर्तिको व्यवस्था गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले बताउनुभयो । विद्युत प्राधिकरणले जानकारी विनै अत्याधिक ट्रिपिङ्ग गर्दा उद्योगका मेसिनहरु विग्रनुका साथै उत्पादन गर्न समेत कठिनाई भएको अग्रहरीले बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई टेलिफोन गरि अत्याधिक ट्रिपिङ्ग र लो भोल्टेजको समस्या समाधान गरिदिन आग्रह गर्नुभएको थियो । उहाँले नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका ईन्जिनियर रामशंकर शाहलाइ बोलाएर विद्युत समस्या र समाधानको पहलका विषयमा चासो राख्नुभएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्गले विद्युत समस्या समाधान गर्न प्राधिकरण निरन्तर लागिरहेको बताउँदै दाउन्ने पश्चिम खण्डमा २२० केभीएको प्रशारण लाईन जडान भएपछि अत्याधिक ट्रिपिङ्ग र लो भोल्टेजको समस्या समाधान हुने भन्दै दुई महिना प्रतिक्षा गर्न आग्रह गर्नुभएको प्रजिअ अर्यालले जानकारी दिनुभयो । नवलपरासी उद्योग वाणिज्य संघले आजै नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रलाई पनि उक्त विषयमा ज्ञापनपत्र बुझाएको संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डेले बताउनुभयो ।

B2

संघले औद्योगिक क्षेत्रमा शान्ति सुरक्षा नभएको भन्दै शान्ति सुरक्षाको व्यवस्था गरिदिन समेत प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ । रामग्राम नगरपालिका वडा नं.१०,१४ र १५ मा रहेको औद्योगिक क्षेत्रमा दिनहुँ चोरी, झैझगडा, होहल्ला जस्ता गतिविधिले उद्योग सञ्चालनमा अवरोध आईरहेको भन्दै उक्त क्षेत्रमा स्थायी प्रहरी बिट स्थापना गर्न माग गरिएको संघका उद्योग उपाध्यक्ष पाण्डेले बताउनुभयो । प्रजिअ अर्यालले जिल्लामा प्रहरीको दरबन्दी कम हुँदा सबै ठाउँमा प्रहरी खटाउन नसकिएको बताउँदै यस विषयमा आगामी जिल्ला सुरक्षा समितिको बैठकमा छलफल गर्ने बताउनुभएको थियो ।

B3

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस