२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पाल्हीनन्दन पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

२०८० अषाढ २९, शुक्रबार प्रकाशित ( साल अघि) ४४१ पाठक संख्या

मोहन पौडेल/दैनिक24खबर
परासी, २९ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता गाउँपालिका तथा दिगोपना घोषणा गरिएको छ । पालिका भित्रका बालबालिकाले पन्ध्र महिनासम्ममा लगाउनुपर्ने सबै प्रकारका खोप लगाएको सुनिश्चित भएपछि आज एक समारोहकाबीच पाल्हीनन्दनलाई जिल्लाको सातौँ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले गाउँपालिका भित्र घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुटेका बालबालिकालाई खोपका सबै मात्रा लगाई वडा,पालिका र जिल्ला स्तरबाट समेत भेरिफिकेशन गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको बताउनुभयो ।
घरधुरी सर्वेक्षणबाट १६ देखि ५९ महिनासम्मका एक हजार ६०३ जना बालबालिकामध्ये खोप लगाउन छुटेका ११९ जना बालबालिकालाई पूर्ण मात्रामा खोप लगाइ सबै वडाहरु पूर्णखोप सुनिश्चित भएको अध्यक्ष गुप्ताले बताउनुभयो । उहाँले पाल्हीनन्दन गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवालाई सहज र सरल बनाउन लागिरहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका अध्यक्ष भगौती यादवले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्दै अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पूर्ण खोपको मात्राले बालबालिकाहरुको स्वास्थ्य मजबुत हुनुका साथै भविष्य पनि उज्वल हुने उहाँले बताउनुभयो । खोपसँगै पोषण सुधारमा पनि जोड दिन उहाँले सुझाव दिनुभयो ।
स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओमप्रकाश पन्थीले जन्मेदेखि पन्ध्र महिनासम्म पाउनुपर्ने १३ प्रकारका खोप लगाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको बताउँदै नियमित खोप अभियान जरुरी रहेको बताउनुभयो । अभियान नचलाएको भए खोप लगाउन छुटेका बालबालिका खोपको पूर्ण मात्राबाट वञ्चित रहने अवस्था रहेको भन्दै उहाँले खोपको मात्रा पूर्ण नभए विभिन्न प्रकारका रोग र महामारीबाट बालबालिकालाई बचाउन कठिन हुने बताउनुभयो ।
बालमृत्युदर, अपांगता घटाउन, खोपबाट हुने रोगबाट जोगाउन तथा सन् २०३० सम्ममा खोपका कारण हुने रोग शुन्यमा झार्ने सरकारको प्रतिबद्धता पूरा गर्न पनि पूर्ण खोप अभियान आवाश्यक रहेको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय पन्थीका अनुसार यो सँगै जिल्लाका सात वटै पालिका पूर्ण खोप सुनिश्चित भएका छन् भने भोली जिल्लालाई नै पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने कार्यक्रम रहेको छ ।
उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिना, स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ता लगायतले पूर्ण खोप सुनिश्चित पालिका घोषणा अभियान सफल पार्ने स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविका, कर्मचारी, जनप्रतिनिधि लगायतलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस