२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राम पूर्ण खोप सुनिश्चितता नगर घोषणा

२०८० अषाढ १९, मंगलबार प्रकाशित ( साल अघि) ६६९ पाठक संख्या

मोहन पौडेल
परासी,१९ असार । पश्चिम नवलपरासीको रामग्रााम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ। नगरपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवले रामग्राम नगरपालिकालाई जिल्लाको छैठौं पालिकाको रुपमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गर्नुभएको हो ।
जिसस प्रमुख यादवले यो अभियान सफल बनाउने सबै स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयमसेविकाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अभियानलाई निरन्तरता र दिगोपना दिन आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकारले भौतिक विकास मात्र नभई सामाजिक विकासको क्षेत्रलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले पूर्ण खोप सुनिश्चित नगर बनाउन योगदान गर्ने स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंसेविका तथा सहयोगी निकायलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै सहज र घरदैलोमा सेवा पुर्याईरहेको बताउनुभयो ।

१८ वडा रहेको नगरपालिकाभित्रका १६ देखि ५९ महिनाभित्रका तीन हजार ४१७ मध्ये चैतमा गरिएको सर्वेक्षणमा ४ जना छुटेको भेटिएकोमा खोज र खोप अभियान मार्फत उक्त उमेर समूहका सबैले ११ महिनाको उमेरभित्रमा राष्ट्रिय खोप तालिकाअनुसार बिसिजी, डिपिटी–हेप बि–हिब, पोलियो, पिसिभी, दादुरा–रुबेला,जेई खोप लगायत १३ किसिमका खोपको मात्रा पूरा गरेको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको नगरका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनुभयो ।

नवलपरासी जिल्लालाई २०७० मा नेपालकै पहिलो पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बाल मृत्युदर घटाउन खोप सँगै पोषण अभियानलाई जोड दिनुपर्ने बताउनुभयो । दिगो विकास लक्ष्यलाई पूरा गर्नलाई पनि यो अभियानले टेवा पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओमप्रकाश पन्थीले बालबालिकाले खोप पाउने जन्मसिद्ध अधिकार सुनिश्चित गर्न,कुपोषणबाट मुक्त गर्न,शिशु मृत्युुदर घटाउन र स्वस्थ बनाउन पूर्ण खोप अभियान जरुरी रहेको बताउनुभयो ।
उहाँले रोगको कारण, रोग लाग्ने दर, अपांग दर र मृत्युदरमा कमी ल्याई बालबच्चालाई स्वस्थ बनाउन पूर्ण खोप आवश्यक रहेको उहाँले बताउनुभयो । २०३० सम्ममा खोपको कारण हुन सक्ने रोग शुन्यमा पुर्याउने नेपाल सरकारको प्रतिबद्धता पूरा गर्न पनि पूर्ण खोप सुनिश्चितता हुनुपर्ने उहाँले बताउनुभयो ।

उक्त अभियान सफल बनाउन योगदान पु¥याएका नगर भित्रका आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्यचौकी र सहरी स्वास्थ्य केन्द्रलाई प्रशंसा–पत्र प्रदान गरिएको थियोे भने स्वास्थ्य कार्यालय,पृथ्वी चन्द्र अस्पताल,शुआहारा,बेस नेपाल,सशक्तीकरण नेपाल,ईन्द्रेणी सामाजिक विकास मञ्च,नेपाल रेडक्रस सोसाइटी नवलपरासी,पत्रकार,सुरक्षाकर्मी लगायतलाई प्रशंसापत्रसहित सम्मान गरिएको शुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले जानकारी दिनुभयो ।
उक्त अवसरमा नगर उपप्रमुख सम्झना चौधरी,नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा,वडा नं. १५ का अध्यक्ष धनपत यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस