२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

उपभोक्ता जागरुक बनाउन सरावलमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न

२०८० अषाढ १८, सोमबार प्रकाशित ( साल अघि) ९६७ पाठक संख्या

मोहन पौडेल
परासी, १८ असार । उपभोक्तालाई आफ्नो अधिकारबारे सुसूचित गराउने उद्देश्यसहित पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी र उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीको संयुक्त आयोजना तथा सरावल गाउँपालिकाको समन्वयमा भएको उक्त कार्यक्रममा पालिका भित्रका आम उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले उपभोक्ताहरु हरेक दिननै ठगिरहेको भन्दै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।उपभोक्ता अधिकार र कानूनी व्यवस्थाबारे सहजीकरण गर्दै घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका प्रमुख गंगाधर पाण्डेले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोगका सचेत गराउन उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले वस्तु तथा सेवाको उपभोग गर्दा उपभोग्य मिति, मूल्य, कारोबारस्थलमा सुचनापाटी,मूल्यसूची भए नभएको हेर्ने,उत्पादकको नाम, ठेगाना,बस्तुको तौल, उत्पादन मिति हेरेर मात्र खरिद गर्न, वस्तु तथा सेवाको खरिद गर्दा अनिवार्य बिल माग्न, अखाद्य तथा कमसल वस्तु तथा सेवाको विक्री वितरण भएको पाईएमा प्रहरी, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहमा उजुरी गर्न आग्रह गर्नुभयो ।

S1

 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले हरेक नागरिक चनाखो र सचेत नभएसम्म उपभोक्ता ठगि नरोकिने बताउनुभयो । उहाँले गाउँपालिकाले वार्षिक कार्यक्रममा समावेश गरेर आगामी वर्षदेखि उपभोक्ता सचेतनाको कार्यक्रमलाई प्रभावकारी बनाउने बताउनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले उपभोक्तालाई ठगि गर्नेलाई हदैसम्मको कारवाही हुनुपर्ने बताउनुभयो । उहाँले अधिकार प्राप्त निकायले नियमित बजार अनुगमन गर्ने र उपभोक्ता ठगि तथा कालोबजारी गर्नेलाई कानूनी कारवाही गर्नुपर्ने बताउनुभयो । म्याद गुज्रेको सामग्री विक्री गर्नु वा कुनै पनि बहानामा उपभोक्ता ठगि गर्नु दण्डनीय अपराध भएको उहाँले बताउनुभयो ।
अनुचित व्यापारिक क्रियाकलापबाट सुरक्षित हुन उपभोग्य वस्तु तथा सेवाको मूल्य,गुणस्तर परिमाण,शुद्धता लगायतका बारेमा उपभोक्ता जागरुक हुनुपर्ने केन्द्रीय सदस्य ज्ञवालीको भनाई थियो । यसका लागि उपभोक्ता शिक्षा आवश्यक रहेको उहाँले जोड दिनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्चकी जिल्ला अध्यक्ष अधिवक्ता सरस्वती शर्माले कमसल वा अखाद्य वस्तुको प्रयोगबाट कुनै किसिमको हानी भएमा उपभोक्ताले क्षतिपूर्तिको दाबीसहित उजुरी गर्न सक्ने प्रावधान पनि रहेको बताउनुभयो । अधिकांश उपभोक्तामा आफ्नो अधिकारबारे ज्ञानको कमी छ भने ज्ञान भएका उपभोक्ताले समेत वस्तु खरिद तथा उपभोग गर्दा व्यवहारिक रुपमा कार्यान्वयन नगर्ने गरेको यथार्यता देखिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला उपाध्यक्ष भोजराज बराकोटी, जिल्ला सचिव मोहन पौडेल,सरावल महिला सञ्जालकी अध्यक्ष भीमकला भट्टराई,पत्रकार उमेश विक, घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर नवीन बस्याल लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला कोषाध्यक्ष धुव्र ज्ञवालीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस