२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्या निराकरण गर्न रामग्राममा निःशुल्क स्वास्थ्य शिविर

२०८० अषाढ १५, शुक्रबार प्रकाशित ( साल अघि) ९२२ पाठक संख्या

मोहन पौडेल
परासी, १५ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले महिलाहरुको स्तन, पाठेघरको मुख क्यान्सर तथा आङ खस्ने समस्या परीक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असार ११ गतेदेखि जारी शिविरमा हालसम्म ९६ जनाको परीक्षण गर्दा पाठेघरको मुखको क्यान्सर हुन सक्ने शंकास्पद बिरामी सात जना,स्तन क्यान्सर एक जना र आङ खस्ने समस्या भएका पाँच जना भेटिएका छन् ।
शिविर नगरका १८ वटै वडालाई लक्षित गरी ६ वटा केन्द्रमा सञ्चालन भईरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर,आङ खस्ने जस्ता समस्या बढ्दै गएकोले समयमै पहिचान गरी निराकरण गर्ने उद्देश्यले लक्षित वर्गलाई घरदैलो नजिकबाट सेवा दिने गरी शिविर सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले दैनिक24 खबरलाई जानकारी दिनुभयो । महिलाहरुले यस किसिमका रोगहरु लुकाउने र समयमा पहिचान नहुँदा ज्यानै जोखिममा पर्ने हुनाले समुदायमै पुगेर सेवा दिएको उहाँको भनाइ थियो ।
हालसम्म असार ११ गते अमरवन स्वास्थ्य चौकी,असार १२ गते देवगाव स्वास्थ्य चौकी, १३ गते हकुई स्वास्थ्य चौकी र आज शुक्रौली स्वास्थ्य चौकीमा शिविर सम्पन्न भईसकेको छ । शिविरमा यस सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरिएको छ । स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी गंगा भट्टराई र रम्भा चौधरीले महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर,आङ खस्ने समस्या, प्रसव फिस्टुला लगायतका रोगहरुको परीक्षण सहित आवश्यक परामर्श र उपचार गरिरहनुभएको जनस्वास्थ्य निरीक्षक हरिजनले बताउनुभयो ।
हालसम्म अमरवन स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा १८ जना महिलाको स्वास्थ्य जाँच गरिएकोमा पाठेघरको मुखको क्यान्सर हुन सक्ने शंकास्पद एक जना र आङ खस्ने समस्या भएका दुई जना पहिचान भएको छ भने देवगाव स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा २४ जनाको परीक्षण गर्दा तीन जना पाठेघरको मुखको क्यान्सरका शंकास्पद विरामी र दुई जना आङ खस्ने समस्या भएका बिरामी भेटिएको शिविरमा जाँच गरिरहनुभएकी सिअनमी गंगा भट्टराईले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार हकुइ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा १८ जना महिलाको परीक्षण गर्दा पाठेघरको मुखको क्यान्सर हुन सक्ने शंकास्पद एक जना, स्तन क्यान्सर एक जना र आङ खस्ने समस्या भएको एक जना भेटिएको छ । यसैगरी आज शुक्रौली स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा ३६ जनाको परीक्षण गर्दा पाठेघरको मुखको क्यान्सर हुन सक्ने शंकास्पद दुई जना बिरामी भेटिएको उहाँले बताउनुभयो । चार वटै स्थानमा भएको शिविरको क्रममा परीक्षण गर्दा उमेर पुगेका तथा धेरै बच्चा जन्माएका महिलाहरुमा आङ खस्ने समस्या, पाठेघरको मुखमा घाउ हुने, मासु पलाउने, सेतो पानी बग्ने लगायतका समस्याबाट पीडित महिलाहरु पहिचान गरिएको भट्टराईले बताउनुभयो ।
सानै उमेरमा धेरै सन्तान जन्माउने, खानपान र सरसफाइमा ध्यान नदिने,असुरक्षित शारीरिक सम्पर्क तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढी हुने गरेको उहाँले बताउनुभयो ।
शिविरको क्रममा पाठेघरको मुखको क्यान्सर हुन सक्ने शंकास्पद विरामीलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ भने अन्य समस्या भएका महिलाहरुलाई आवश्यक परामर्श तथा औषधीमार्फत उपचार गरिरहेको शुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटाले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
शिविरबाट समुदाय स्तरमा पाठेघरको मुखको क्यान्सर भएका तथा आङ खस्ने समस्या भएका रोगीहरुको पहिचान गरी समयमै निराकरण गर्ने उद्देश्यले समुदायमै पुगेर शिविर सञ्चालन गरिएको सापकोटाले बताउनुभयो । शिविरमा ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिलालाई लक्षित गरिएको छ । नेपालमा महिलाहरुमा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर बढी देखिने गरेको छ । शिविर रानीपाकड र उनवक्ष स्वास्थ्य चौकीमा पनि सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस