२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

दर्जनमा बेच्दा ठगिएपछि तौल प्रणालीबाट केरा बेच्दै नवलपरासीका कृषक

२०८० अषाढ १४, बिहिबार प्रकाशित ( साल अघि) ७३१ पाठक संख्या

परासी, १४ असार । पश्चिम नवलपरासीका केरा उत्पादक कृषकले तौल प्रणाली मार्फत केरा बिक्री गर्न थालेका छन् । दर्जनको हिसाबले बिक्री गर्दा ठगिनुपरेकोले तौलेर बिक्री गर्न थालिएको नवलपरासी केरा उत्पादक संघले जनाएको छ ।
न्युनतम रु २० प्रति किलोको दरले केरा बिक्री शुरु गरिएको संघका अध्यक्ष लख्खु यादवले बताउनुभयो । “दर्जनको हिसाबमा व्यापारीले केरा किनेर लादा प्रत्येक गाडिमा १० देखि २० दर्जन सम्म कम देखाईदिने गर्दा किसान धेरै ठगिने र बिचौलिया मोटाउने प्रवृत्ति थियोे, यसको अन्त्यको लागि पनि यो प्रणाली लागू गरेका हौँ” उहाँले भन्नुभयो ।
उखुखेतीको विकल्पमा केरा खेती गर्दै आएका यहाँका कृषक केराको कारोबारमा समेत ठगिदै आएका थिए । लामो समयसम्म भुक्तानी नपाएर उखु खेती छाडि केरा खेतिमा लागेका यहाँका सयौँ कृषकले केराको पनि उचित मुल्य नपाएपछि तौल प्रणाली लागु गरिएको अध्यक्ष यादवले बताउनुभयो ।
नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिका केराको पकेट क्षेत्रको रुपमा बिस्तार भईरहेको छ । यश क्षेत्रमा दुई हजार ५०० विघामा केरा खेती हुँदै आएको छ । तर पछिल्लो समय एक हजार २०० हेक्टरमा मात्र केरा खेती भएको उहाँले बताउनुभयो ।

तौल प्रणालि लागु हुँदा कृषकले केराको गुणस्तर अनुसार न्युनतम प्रति केजी २० रुपैयाका दरले पाउने छन् । कृषकबाट केरा खरिद गरेर लैजाने ब्यापारीले सहकारी वा बैंक मार्फत धरौटी जम्मा गरी पालिकाको सिफारिसमा मात्र केरा खरिद बिक्री गर्ने ब्यवस्था मिलाइएको छ ।
पश्चिम् नवलपरासीमा केरा उत्पादक कृषकको झन्डै १ करोड रुपैयाँ वक्यौता उठ्न बाँकी रहेको कृषक शैलेन्द्र शर्माले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो – “न समयमा मल पाईन्छ,न त उचित बजार र मुल्य नै,सरकारले बास्तविक किसानको समस्या कहिल्यै सुनेन, कृषि प्रधान देशका हामी कृषकको यो अवस्था छ”
नवलपरासीमा भारतीय केराका कारण नेपाली केराले उचित बजार नपाउँदा बारिमै कुहिने अवस्था रहेको छ । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले केरा उत्पादक कृषकले उचित मूल्य पाउनु पर्नेमा जोड दिनुभयो । कृषकको लगानी खेर जान नदिन र कृषकलाई ब्यवसायिक केराखेतीबाट आत्मनिर्भर बनाउनका लागि पालिकाले सक्दो सहयोग उपलब्ध गराउने उहाँले बताउनुभयो ।
सुस्ता र प्रतापपुरलाई केरा पकेट जोनको रुपमा बिकास गरी स्थानीय र प्रदेश सरकारले आवस्यक प्रवन्ध मिलाईदिनु पर्ने यहाँका कृषकको माग छ । नवलपरासीमा उत्पादन हुने केरा देशका प्रमुख शहर बुटवल,काठमाडौ,पोखरा लगायतका बजारमा खपत हुँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस