२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

कोरोनाबाट मुक्तिको कामना गर्दै पश्चिम नवलपरासीमा पुजापाठ

२०७८ जेष्ठ ९, आईतबार प्रकाशित ( साल अघि) ८४९ पाठक संख्या

मोहन पौडेल

परासी, ९ जेठ – दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना भाईरस सङ्क्रमणको महामारी तीव्र रुपमा फैलिदँै गएपछि कोरोनाभाइरसबाट मुक्तिको कामना गर्दै नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा पुजापाठ गरिएको छ ।
रामग्राम नगरपालिका ४ जीतपुरस्थित काँडरमाईको थान सहित जिल्लाका विशेषगरी दक्षिणी क्षेत्रका गाउँगाउँमा धाार्मिक स्थलहरुमा कोरोना नियन्त्रणको कामना गर्दै दैनिक पूजापाठ र प्रार्थना भईरहेको छ ।
विगत एक हप्तादेखि गाउँका महिलाहरुले कोरोनाबाट मुक्ति मिलोस् भन्दै दैनिक विहान र साँझ उदाउँदो र अस्ताउँदो सुर्यलाई अर्घ दिएर दिईरहेको रामग्राम ४ का रामानन्द कोईरीले दैनिक २४ खबर डटकमलाई बताउनुभयो । पूजापाठ गर्दा कोरोना महामारी लगायत रोगव्याधीबाट मुक्त भईन्छ भन्ने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो ।
देवीदेउतामा शक्ति भएकोले भगवान्को आर्शीवादले कोरोना भगाउन सकिन्छ भनेर पुजा गर्दै आएको जीतपुरकी लीलावती कोंहारले बताउनुभयो । “कोरोनाले धेरै सतायो, हामीले यो संसार नै छोडेर जा कोरोना भन्दै प्रार्थना गरेका छौँ”, उहाँले भन्नुभयो ।
केही दिन सुर्यको पुजापछि मन्दिरमा धार्मिक विधिबाट पुजापाठ गरिने जीतपुरकी ज्ञान्तीदेवी कोंहारले जानकारी दिनुभयो । “कोरोनाका कारण धेरैले ज्यान गुमाउनुपरेको छ, कतिले राम्रो उपचार पाउन नसकेर छट्पट्याईरहेका छन्, दैनिक जीवन नै अस्तव्यस्त भएको छ, यसले गर्दा हामीले मुक्तिको लागि प्रार्थना गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
७५ वर्षीय कौशिल्यादेवी पटेलले कोरोनाबाट सबै नेपालीले मुक्ति पाउन भनेर प्रार्थना गरिरहेको बताउनुभयो । अन्य समयमा पानी नपर्दा पनि यसरी नै पुजा प्रार्थना गर्दा मागेको पूरा हुने गरेको विश्वासले अहिले कोरोना पनि हट्ने भन्दै मानिसहरु पुजापाठमा लागेको जीतपुरकै स्थानीय अर्जुन क्षेत्रीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%१%

प्रतिक्रिया दिनुहोस