२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुनवल–९ का २१५ ज्येष्ठ नागरिकलाई सम्मानसहित झुल वितरण

२०८० जेष्ठ १६, मंगलबार प्रकाशित ( साल अघि) ७६४ पाठक संख्या

मोहन पौडेल
परासी, १६ जेठ । गणतन्त्र दिवसको अवसर पारेर पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ९ का ज्येष्ठ नागरिकलाई सम्मान तथा झुल वितरण गरिएको छ । सुनवल नगरपालिकाको सहयोगमा राधाकृष्ण मन्दिर सेवा समिति र स्वाठी ज्येष्ठ नागरिक सञ्चालन उपभोक्ता समितिले उक्त वडाका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
उक्त वडाका ६८ वर्ष भन्दा माथि उमेरका २१५ ज्येष्ठ नागरिकलाई सम्मान तथा झुल वितरण गरिएको सुनवल नगरपालिककी प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक यो समाज र राष्ट्रका देवता सरह भएकोले उहाँहरु स्वस्थ र खुशी नबनाएसम्म समृद्धि सम्भव नहुने भएकोले नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम ल्याएको नगर प्रमुख अर्यालले बताउनुभयो ।
बढ्दो गर्मीसँगै लामखुट्टेको टोकाईबाट मलेरिया लगायतका रोग लाग्ने भएकोले ज्येष्ठ नागरिकलाई लामखुट्टेको टोकाईबाट बचाउन झुल वितरण गरिएको उहाँले बताउनुभयो । विगतमा पनि तीर्थ भ्रमण लगायतका कार्यक्रम गरिएको र आगामी दिनमा पनि ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गरिरहने नगर प्रमुख अर्यालको भनाई थियो ।
नगरपालिकाले स्वास्थ्यकर्मी परिचालन गरी ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य जाँच तथा औषधी उपचार गर्दै आएको बताउनुभयो । ज्येष्ठ नागरिकको सवालमा नगरपालिका संवेदनशील रहेको र नयाँ पुस्तालाइ पनि ज्येष्ठ नागरिकप्रति सम्मान गर्नुपर्छ भन्ने संन्देश प्रवाह गर्न पनि नगरपालिकाले यस किसिमका कार्यक्रम ल्याएको नगर प्रमुख अर्यालले उल्लेख गर्नुभयो ।
राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष पर्शुराम पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले ज्येष्ठ नागरिकको सुझाव, सल्लाह, मार्ग निर्देशलाई मनन गर्न आवश्यक रहेको बताउनुभयो । बाटो, पुल, भवन बनाउनु मात्र विकास नभई यस्ता कार्यक्रमलाई पनि विकासकै पाटोमा लिनुपर्ने उहाँले जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले ज्येष्ठ नागरिकको स्यहार सुसार तथा सम्मानमा विशेष जोड दिनुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकले प्राप्त गरेको अनुभव र सिकाइलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न आग्रह गर्नुभयो । ज्येष्ठ नागरिकको जीवनयापन सहज बनाउन तीनै तहका सरकारले काम गरिरहेको उहाँको भनाई थियो ।
सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले ज्येष्ठ नागरिक यो समाजका देवता भएकोले उहाँहरुलाई स्थानीय सरकारले सम्मान गरेको बताउनुभयो । उहाँले आफूले प्राप्त गरेको ज्ञान र सीपलाइ आदानप्रदान गर्न पनि उहाँले जोड दिनुभयो । समाजसेवी रामचन्द्र भण्डारीले
सुनवल–९ का वडा अध्यक्ष बीरबल चौधरीले ज्येष्ठ नागरिकलाई आगामी वर्ष देश दर्शनका तथा मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । ज्येष्ठ नागरिकसँग भएका ज्ञान र सिकाइलाई अनुशरण गर्दै समाज रुपान्तरण गर्न सकिने उहाँको भनाइ थियो ।
वडा भित्रका सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ज्येष्ठ नागरिकलाई सम्मान तथा झुल वितरण गरिएको राधाकृष्ण मन्दिर सेवा समितिका सचिव टंक कुंवरले जानकारी दिनुभयो । असक्त, असहाय ज्येष्ठ नागरिकलाई घरमै पुगेर झुल वितरण गरिने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस