२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राम सांस्कृतिक मेला सुरु, रामग्राम स्तुपलाई प्रदेशबाट बीस करोड रुपैँया विनियोजन गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता

२०८० जेष्ठ ९, मंगलबार प्रकाशित ( साल अघि) ६६१ पाठक संख्या

मोहन पौडेल
परासी, ९ जेठ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष पाण्डेले रामग्राम स्तुपको विकासका लागि प्रदेश सरकारले वार्षिक बजेट विनियोजन गर्ने बताउनुभएको छ । ऐतिहासिक र पुरातात्विक महत्व बोकेको तर विकासमा पछि परेको रामग्राम स्तुपको विकासका लागि प्रदेश सरकारले वार्षिक रु २० करोडका दरले बजेट विनियोजन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आजदेखि शुरु भएको प्रथम रामग्राम सांस्कृृतिक मेलाको उद्घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले बहुवर्षिय योजनाको रुपमा बजेट विनियोजन गर्छ, २० करोडका दरले पाँच वर्षमा कम्तिमा एक अर्ब बजेट आउँछ, त्यसको माध्यमले रामग्राम स्तुपलाई आकर्षक पर्यटकीय स्थल बनाउन सकिन्छ ।”
पर्यटनलाई व्यवस्थित गर्न सके मात्र पनि यो नेपाल आर्थिक रुपमा सम्पन्न हुने मन्त्री पाण्डेको भनाई छ । प्रकृतिले नेपाललाई पर्यटनको राष्ट्र बनाएको तर त्यसको व्यवस्थापन हुन मात्र बाँकी रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “अरु देशमा भगवान् बुद्ध पुगेको, उपदेश दिएको ठाउँ सारनाथ, कुशीनगर लगायतका ठाउँ व्यवस्थित विकास भईसकेका छन् तर भगवान् बुद्ध नै जन्मिएको ठाउँ भने अन्धकार छन्, हामी प्रदेश सरकारको तर्फबाट तीन जिल्लाका बुद्ध स्थलको प्रवद्र्धनमा ध्यान दिन्छ”
यस किसिमका सांस्कृतिक मेलाको माध्यमबाट संस्कृति,संस्कारको संरक्षण र पर्यटन प्रवद्र्धन हुने उहाँको भनाई थियो । प्रदेशसभा सदस्य खड्ग बस्नेतले यस मेलाले यहाँको संस्कृतिको जर्गेनामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै रामग्रामलाई सांस्कृतिक नगरीको रुपमा चिनिन पनि सफल होस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
रामग्राम नगरपालिकाका मेयर धनपत यादवले मेलाको माध्यमबाट संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले परासी बजारलाई बाढीबाट जोगाउन झरही नदीमा तटबन्धसहितको करिडोर निर्माण गर्न सुरुवात गरिएकोले यसको निर्माण सम्पन्न प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजनका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।
कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले रामग्राम नगरपालिका वडा नं. २ वडा कार्यालयले परासीमा पहिलोपटक रामग्राम सांस्कृतिक मेला आयोजना गरेको हो । रामग्राम–२ स्थित हाटबजारमा आगामी जेठ २० गतेसम्म मेला सञ्चालन हुनेछ ।
मेला प्रत्येक दिन दिउँसो एक बजेदेखि राति दश बजेसम्म सञ्चालन हुने वडा अध्यक्ष निरज रौनियारले बताउनुभयो । मेलामा प्रत्येक दिन राष्ट्रिय, स्थानीय कलाकारसहित भोजपुरी क्षेत्रका चर्चित कलाकारहरुको बजोड प्रस्तुति रहनेछ भने प्रत्येक दिन कुस्ती(दंगल) प्रतियोगिता तथा प्रथम रामग्राम डान्स आईडल प्रतियोगिता पनि आयोजना हुने मेला व्यवस्थापक जय माता दी एम्युजमेन्ट एण्ड ईभेण्ट म्यानेजमेन्ट प्रालिका प्रमुख राजवीर जयसवालले जानकारी दिनुभयो ।
डान्स आईडलमा प्रथम पुरस्कार रु २५ हजार, द्धितिय पुरस्कार रु बीस हजार, तृतीय रु पन्ध्र हजार प्रदान गरिनेछ भने प्रथम हुनेलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत दिईने मेला व्यवस्थापक जयसवालले जानकारी दिनुभयो । बालबालिका तथा युवाहरुको लागि बाल उद्यान सहित स्थानीय उत्पादन,कृषि, गार्मेन्ट, होटल रेष्टुरेण्ट लगायत गरी करिब ५० वटा व्यापारिक स्टल समेत मेलामा राखिने छ । ५० हजार बढी दर्शक सहभागि गराउने उद्देश्य रहेको उक्त मेलामा प्रवेश शुल्क विद्यार्थीका लागि रु ५० र अन्यका लागि रु ७० तोकिएको छ ।
मेला उद्घाटन समारोहमा रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, नेपाली कांग्रेसका कार्यबाहक जिल्ला सभापति विक्रम यादव,रामग्राम नगरपालिकाका लेखा अधिकृत सञ्जय शर्मा, परासी प्रेस क्लबका अध्यक्ष बेचु गौड लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस