२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

आदर्श माविका विद्यार्थीलाई लागूऔषध दुव्र्यसन तथा कूलत विरुद्ध सचेतना

२०८० बैशाख २९, शुक्रबार प्रकाशित ( साल अघि) ४६८ पाठक संख्या

परासी, २९ वैशाख । पश्चिम नवलपरासीको परासीस्थित आदर्श माविमा लागूऔषध दुव्र्यसन,कूलत न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुको सहभागितामा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
नगर भित्रका किशोरकिशोरी तथा युवाहरुलाई लागूऔषधको दुव्र्यसनबाट जोगाई सभ्य समाज निर्माण गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको थियो । रामग्राम नगरपालिकाको आयोजना, रमादेवी मिडिया प्रालि नवलपरासीको सहजीकरण तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले लागूऔषधबाट युवाहरुलाई जोगाउन नगरपालिकाले अभियान चलाएको बताउनुभयो । आफूले सिकेका ज्ञानलाई बाँडेर यो अभियानलाई सफल पार्न उहाँले आग्रह गर्नुभयो । सबै युवाहरुले म आजैबाट लागूपदार्थको सेवन गर्दिन भनेर प्रतिबद्धता गर्नुपर्ने उहाँको भनाई थियो ।
यस्तै कार्यक्रमका प्रमुख प्रशिक्षक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले भौतिक पूर्वाधार मात्र विकास नभएर सभ्य र शान्त समाज निर्माण गर्नु पनि विकास बुझ्नुपर्ने बताउनुभयो । लागूऔषध दुव्र्यसनमुक्त समाज निर्माणमा प्रहरीको मात्र सक्रियताले सफलता प्राप्त नहुने भएकोले समाजका अगुवा, जनप्रतिनिधि, अभिभावक, शिक्षक लगायतको पनि अहम भूमिका हुनुपर्ने डिएसपी पाण्डेले बताउनुभयो ।
आदर्श माविकी सहायक प्रधानाध्यापक अरुणा पटेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट स्नेहा भण्डारी, सौरभ पाण्डे लगायतले बोल्दै लागूऔषधको सेवन नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रामग्राम नगरपालिकाले चालु आवमा विनियोजन गरेको उक्त सचेतनामूलक कार्यक्रम रमादेवी मिडिया प्रालिले समुदाय र विद्यालय तहका किशोरकिशोरी र युवाहरुलाई लक्षित गरी नगरका विभिन्न चार स्थानमा सञ्चालन गरेको उक्त मिडियाका प्रबन्ध निर्देशक मोहन पौडेलले बताउनुभयो । उहाँका अनुसार आदर्श मावि परासी, जनता मावि शुक्रौली, पाल्ही बहुमुखी क्याम्पस जितपुर र रामग्राम नगरका युवाहरुको सहभागितामा वडा नं. ३ मा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

A2

 

A3

 

A4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस