२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

राष्ट्रिय युवा संघ नवलपरासीले सय दिने सचेतना अभियान चलाउने

२०८० बैशाख २९, शुक्रबार प्रकाशित ( साल अघि) ६५९ पाठक संख्या

परासी, २९ वैशाख । राष्ट्रिय युवा संघ जिल्ला कमिटी पश्चिम नवलपरासीले सय दिने सचेतना अभियान सञ्चालन गर्ने भएको छ । संघले सामाजिक सञ्जालको माध्यमबाट युवाहरुलाई सचेत गराउने अभियान सञ्चालन गर्न लागेको हो ।
राष्ट्रिय युवा संघ जिल्ला कमिटीको विहीबार परासीमा सम्पन्न पदाधिकारी बैठकले सामाजिक सञ्जालको माध्यमबाट लागूऔषध दुव्र्यसनी, कूलत लगायत सामाजिक समस्याहरुको विरुद्ध सचेतना फैलाउने सन्देश एकैसाथ सम्प्रेषण गर्ने निर्णय गरेको संघका जिल्ला अध्यक्ष ज्ञानप्रसाद पाठक(सन्तोष)ले दैनिक 24 खबरलाई जानकारी दिनुभयो ।
“पछिल्लो समय युवाहरु लागूऔषधको दुव्र्यसनी र कूलतमा फस्दै गएका छन्, जसले गर्दा उनीहरुको भविष्य अन्धकार बनिरहेको छ, सामाजिक र पारिवारिक समस्या बढिरहेका छन्, हामीले यस्ता विकृतिप्रति सचेत गराउन स्थापना दिवसको अवसर पारेर सय दिनसम्म सामाजिक सञ्जालको माध्यमबाट सचेतना जगाउने निर्णय गरेका हौँ”, अध्यक्ष पाठकले भन्नुभयो ।
विभिन्न सचेतनामूलक सन्देशहरु युवा संघमा आवद्ध युवाहरुले एकैसाथ सम्प्रेषण गर्ने संघले जनाएको छ । यसैगरी राष्ट्रिय युवा संघले युवामैत्री नीति, कार्यक्रम तथा बजेटलाई प्राथमिकता दिन माग गर्दै स्थानीय तहलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । यूवामैत्री योजना, उद्यमशीलता तथा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्दै जिल्लाका सातै स्थानीय तहलाई ध्यानाकर्षण गरिने अध्यक्ष पाठकले बताउनुभयो ।
यसैबीच राष्ट्रिय युवा संघ नवलपरासीले ३४ औँ स्थापना दिवस मनाउने भएको छ । संघले बैठकले आगामी जेठ एक गते राष्ट्रिय युवा संघको स्थापना दिवसमा जिल्लाका सामुदायिक तथा सरकारी अस्पतालहरु पृथ्वीचन्द्र अस्पताल परासी, चिसापानी अस्पताल बर्दघाट, सहिद स्मृत्ति सामुदायिक अस्पताल चौपत्ताका बिरामीलाई फलफूल वितरण गर्ने निर्णय गरिएको संघका सचिव विनोद पुनले बताउनुभयो ।
पदाधिकारी बैठकले युवा संघ जिल्ला कमिटीको पूर्ण बैठक आगामी जेठ १३ गते आयोजना गर्ने निर्णय गरेको छ भने राष्ट्रिय युवा संघको नेपालगञ्जमा सम्पन्न राष्ट्रिय महाधिवेशनमा नवलपरासीबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित विश्वबन्धु पोखरेल(विष्णु), ईश्वर प्रसाद उपाध्याय र रामबहादुर भण्डारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको छ । बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस