२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राममा प्रदेश स्तरीय आर्यवीर च्याम्पियन क्रिकेट लिग सुरु, परासीको विजयी सुरुवात

२०८० बैशाख २८, बिहिबार प्रकाशित ( साल अघि) ९४५ पाठक संख्या

मोहन पौडेल
परासी, २८ वैशाख । पश्चिम नवलपरासीमा आजदेखि लुम्बिनी प्रदेश स्तरीय “आर्यवीर च्याम्पियन क्रिकेट लिग २०८०” शुरु भएको छ। ओम नेचर फुड्स प्रालि रामग्राम–१५ नवलपरासीको आयोजनामा रामग्राम नगरपालिका–४ स्थित रामग्राम स्टेडियममा प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगिताको आज एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले उद्घाटन गर्नुभयो । प्रदेशसभा सदस्य जयसवालले यस प्रतियोगिताले यस क्षेत्रको क्रिकेट विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने यो महत्वपूर्ण अवसर पनि भएको उहाँको भनाई थियो । पछिल्लो समय नेपालले क्रिकेटमा राम्रो फड्को मारिरहेको बताउँदै उहाँले क्रिकेटमा भविष्य खोज्न स्थानीय खेलाडीलाई आग्रह गर्नुभयो ।
ओम नेचर फुड्सका प्रबन्ध निर्देशक एवं नवलपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ओम प्रकाश अग्रहरीले नवलपरासी जिल्लालाई खेलको माध्यमबाट  पहिचान गराउने उद्देश्यले रामग्राम नगरीमा निजी स्तरबाट प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उद्योगी पृष्ठभूमिबाट आएको आफ्नो परिवारले सामाजिक, शैक्षिक, स्वास्थ्य र धार्मिक क्षेत्रमा योगदान गर्दै आएकोमा खेल क्षेत्रलाई पनि उकास्न पहल गरेको उहाँले बताउनुभयो ।
ओम नेचर फुड्सका सञ्चालक अमित अग्रहरीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा, नवलपरासी उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

C2

प्रतियोगिता अन्र्तगत आज भएको पहिलो प्रतिस्पर्धामो परासी स्म्यासर्सले विजयी सुरुवात गरेको छ ।  परासीले  ३५ रनको फराकिलो जित दर्ता गर्दै एएमबीबी सुनवललाई पराजित गरेको छ। टस जितेर पहिले व्याटिङ गरेको परासी स्म्यासर्सले १२ ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । परासी स्म्यासर्सका लागि रविसले ५६ रन, क्याप्टेन अमित अग्रहरीले ३९ रन बनाए । एएमबीबी सुनवलका लागि दिपेन्द्रले ३ विकेट र गोविन्दले १ विकेट लिए । १५५ रनको विजय लक्ष्य पछ्याएको सुनवल आठ विकेटको क्षतिमा ११९ रनमा समेटियो ।
सुनवल गोविन्द ३२,आनन्द १९,मिलन १३ रनमा आउट भए । आयोजक टिमलाई सस्तैमा समेट्ने क्रममा परासीका लागि रविशले ३विकेट,सुजितले २ विकेट र आनन्दले २ विकेट लिए । आफ्नो टिमलाई जित दिलाउन भूमिका खेलेका परासी स्म्यासर्सका रविश सर्वाधिक ५६ रन र ३ विकेट लिँदै आजको प्रतियोगिताको म्यान अफ द म्याच घोषित भएको प्रतियोगिताका सदस्य सन्दिप अग्रहरीले जानकारी दिनुभयो ।
कूल १६ टिमको सहभागिता रहेको यो प्रतियोगितामा आगामी जेठ सात गतेसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक अमित अग्रहरीले दैनिक 24 खबरलाई बताउनुभयो । प्रतियोगितामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी लगायतका जिल्लाका क्रिकेट टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी टिमलाई नगद रु एक लाख,ट्रफि र प्रमाणपत्र, रनरअपलाई नगद रु चालिस हजार, ट्रफि र प्रमाणपत्र, प्लेयर अफ त सिरिजलाई रु पाँच हजार, ट्रफि र प्रमाणपत्र, बेष्ट ब्याट्म्यानलाई रु २५०० र ट्रफि, बेष्ट बलरलाई रु २५०० र ट्रफि प्रदान गरिने आयोजक ओम नेचर फुड्स नवलपरासीले जनाएको छ।
प्रतियोगिताको यो सिजन–१ हो । आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइने आयोजकले जनाएको छ। २०७४ मा स्थापना भएको ओम नेचर फुड्स प्रालिले गुणस्तरीय खाद्यन्न उत्पादन गर्दै राजधानी काठमाडौँ लगायत देशका मूख्य बजारमा सुलभ तरिकाबाट आफ्नो उत्पादन आपूर्ति गर्दै आएको उद्योगका प्रबन्ध निर्देशक ओमप्रकाश अग्रहरीले बताउनुभयो ।

Cc

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%२%

प्रतिक्रिया दिनुहोस