२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पालिका भित्रका सडक अतिक्रमण हटाउँदै पाल्हीनन्दन गाउँपालिका

२०८० बैशाख २६, मंगलबार प्रकाशित ( साल अघि) ८२६ पाठक संख्या

मोहन पौडेल
परासी, २६ वैशाख । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले पालिका भित्रका सडक अतिक्रमण हटाउँदै सडक विस्तार कार्यलाई तीव्रता दिएको छ । सडक अतिक्रमण बढ्दै जाँदा दुर्घटना पनि बढ्दै गएको र गाउँको सुन्दरता समेत हराएकोले गाउँपालिकाले अतिक्रमण हटाएर सडक विस्तार गर्न लागेको हो ।
पालिका भित्रका मूख्य तथा सहायक सडकहरुमा अतिक्रमण गरी बनाईएका संरचना तथा सामग्री हटाएर सडक चौडा बनाउने काम शुरु गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले दैनिक24 खबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार उजैनीदेखि पाल्हीमन्दिर हुँदै चिमन टोला भारतीय सीमा क्षेत्रसम्मको सडकमा अतिक्रमण गरी बनाईएका स्थायी तथा अस्थायी संरचना, निर्माण सामग्री, व्यवसायिक सामान लगायत हटाएर बाटो विस्तार गर्न थालिएको छ ।
सार्वजनिक सडक ऐन अनुसार सडकको केन्द्रबाट दायाँबायाँ दुवैतर्फ २५/२५ फिट भित्र पर्ने सबै संरचना हटाउन यसअघि तीन/चार महीना अघि देखि नै सार्वजनिक सूचना तथा अपील गरिएको र आफै नहटाएका संरचना पालिकाले नै हटाउने उहाँले बताउनुभयो । सडक सबैको साझा सम्पत्ति भएकोले यसको संरक्षण गर्नु सबै गाउँवासीको कर्तव्य भएको गाउँपालिका अध्यक्ष गुप्ताको भनाई छ ।
“सडक अतिक्रमण बढ्दै जाँदा साँघुरो भई दुर्घटना बढ्न थालेकोले अतिक्रमण हटाएर सडक फराकिलो बनाई कालोपत्रे र दुवैतर्फ नाला निर्माण गर्ने योजना रहेको अध्यक्ष गुप्ताले बताउनुभयो । साँघुरो बाटो फराकिलो बनाउन हामी लागिपरेका छौँ, अहिले सडकको क्षेत्राधिकार नापेर रेखांकन गर्दै अतिक्रमण हटाउन पहल गरिरहेका छौँ, पहिलो चरणमा उजैनी–चिमनटोला सडक विस्तार गर्न शुरु गरेका हौँ”, उहाँले भन्नुभयो ।
गाउँपालिकाको बजेटले मात्र नपुग्ने भएकोले प्रदेश र संघ सरकारसँग समन्वय गरेर बाटो निर्माण गरिने अध्यक्ष गुप्ताले बताउनुभयो । यो सडक विस्तार गर्दा ३५/४० घर भत्काउने पर्ने देखिएको छ । धेरैजसोले स्वतस्फूर्त भत्काईरहेका छन् भने केहीले अटेरी गरेका छन् । “तीन/चार महिनादेखि हामीले बारम्बार सूचना गरेर भत्काउन आग्रह गरिरहेका छौँ, घरघरमा सूचना पनि टाँसिएको थियो, पाँच/सात घरलाई अफ्ठ्यारो परेको हो, हामी उहाँहरुलाई सम्झाएर चित्त बुझाएर अघि बढ्छौँ”, अध्यक्ष गुप्ताले उल्लेख गर्नुभयो ।
सडक अतिक्रमण हटाउन र विस्तार गर्न स्थानीयवासीले सहयोग गरिरहेको उहाँको भनाई थियो । गाउँपालिकाले यसबाहेक उजैनीदेखि महेशपुर सडक,पिपरिहयादेखि पडरी सडक, जोकवारदेखि विष्णुपुरा सडक, पर्सियाचोक देखि कुश्मा सडक, पर्सियाचोक देखि लुटपुरवा लगायतका सडकमा अतिक्रमण हटाउँदै बाटो विस्तार गर्ने कार्यलाई क्रमशः अघि बढाउने योजना बनाएको छ ।
अध्यक्ष गुप्ताले भन्नुभयो, “हाम्रो पालिकामा गाउँपालिकाको प्रशासनिक भवन बन्यो, अस्पताल बन्यो, प्राविधिक विद्यालय निर्माणाधिन छ, वडा कार्यालयहरु बनिसके, विद्यालय भवनहरु ब्निरहेका छन् अर्थात आधारभूत भौतिक संरचनाहरु बनेका छन् अब बाटो विस्तार र स्तरोन्नती बाँकी छ, सडक नबनेसम्म विकास पनि देखिदैँन तसर्थ पनि अब हाम्रो ध्यान सडक निर्माणमा छ”
सडक निर्माण कार्य गाउँवासीकै लागि भएकोले सडक निर्माण कार्यमा सहयोग गर्न उहाँले सबै गाउँपालिकाबासीलाई आग्रह गर्नुभएको छ । सडकको अतिक्रमण हटाउन गाउँपालिका अध्यक्ष गुप्ता आफै सक्रियताका साथ लाग्नुभएको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत छनौट भएका ८० जनालाई पनि सडक अतिक्रमण हटाउन परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
सडक विस्तार शुर भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । पाल्हीनन्दन–४ का मदन सहानीले बाटो बनेपछि आवातजावतमा सहज हुने बताउनुभयो । बाटो बनेपछि सबै गाउँवासीलाई फाईदा पुग्ने भएकोले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । अर्का स्थानीय अदालत यादवले पहिला साँघुरो हुँदा धेरै समस्या रहेकोले अब विस्तारभएपछि धेरै सहज हुने बताउनुभयो । बाटो विस्तारको क्रममा आफ्नो पनि घर परेको तर भत्काएर सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%३%

प्रतिक्रिया दिनुहोस