२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

विश्व रेडक्रस दिवसमा बिरामीलाई फलफूल वितरण

२०८० बैशाख २५, सोमबार प्रकाशित ( साल अघि) ४७९ पाठक संख्या

मोहन पौडेल
परासी, २५ वैशाख । विश्व रेडक्रस दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्म भएको दिन मे ८ अर्थात विश्व रेडक्रस दिवसको अवसरमा आज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीले परासीस्थित पृथ्वी चन्द्र अस्पतालका बिरामीलाई फलफूल वितरण गरेकाे हाे ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीको नेतृत्वमा नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिंह सैथवार,अस्पतालका चिकित्सक एवं रेडक्रस जिल्ला शाखाका मन्त्री ऋषिराम सुवेदी, उपमन्त्री सुरज केसी, कोषाध्यक्ष रामकुमार गुप्ता,जिल्ला सदस्यहरु घनश्याम यादव,वरिष्ठ शाखा अधिकृत मुरारी गुप्ता,रेडक्रसकर्मी,सञ्चारकर्मी लगायतको उपस्थितिमा अस्पतालका रहेका २५ जना बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको हो ।रेडक्रसका कोषाध्यक्ष रामकुमार गुप्ताले बिरामीका लागि वितरण गरिएको फलफूल सौजन्य गर्नुभएको थियोे ।
फलफूल वितरण अघि जिल्ला शाखाको कार्यालयमा रेडक्रसका जन्मदाता ड्युनाको तस्वीरमा माल्यार्पण गरिएको थियोे ।
रेडक्रस दिवसको शुभकामना व्यक्त गर्दै जिल्ला सभापति अग्रहरीले रेडक्रस अभियानको विश्वव्यापी सञ्जाल र यसको योगदानबाट प्राप्त आदर्श र छविलाई अझ सुदृढ बनाउन रेडक्रस अभियानको विश्वव्यापी उपस्थिति, एकता र निष्पक्ष रूपमा गरिने कामको प्रकृति र यसले मानिसको जीवनमा पार्ने प्रभावका बारेमा चेतना जगाउनु दिवसको उद्देश्य रहेको बताउनुभयो ।
समस्त मानव मात्रको कल्याणका लागि सल्फेरिनोको युद्धदेखि नै ड्यूनाले देखाएको मानवताको सुमार्गमा हिड्न मे ८ ले सवैलाई प्रेरित गरेको उहाँले बताउनुभयो । उहाँले युद्ध, प्राकृतिक विपत्ति, विकास र शान्ति सबै परिस्थितिमा लामो समयदेखि क्रियाशील अन्तर्राष्ट्रिय रेडक्रस अभियानले पारस्परिक सहयोग र सेवाको आधारमा आफ्ना सेवाहरू निरन्तर प्रदान गर्दै आएको बताउनुभयो ।
सभापति अग्रहरीले रेडक्रस र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउन, विपद् व्यवस्थापन, स्वास्थ्य प्रवद्र्धन, मानवीय सम्मान अभिबृद्धिका कार्यक्रमलाई अगामी दिनमा अझ व्यापक बनाएर लैजाने उल्लेख गर्नुभयो ।
विश्व रेडक्रस दिवस रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनको अवसरमा उनले गरेका योगदानको कदर गर्दै विविध कार्यक्रमका साथ विश्वभर मनाइने गरिन्छ । रेडक्रसका संस्थापक हेनरीले विशुद्ध मानवीय सेवा गर्ने उद्देश्यले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई उच्च सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलनले आधिकारिक मान्यता दिएपश्चात सो दिवस विश्वभर मनाइन थालिएको हो । नेपालमा भने विसं २०२० सालमा रेडक्रसको स्थापना भएको हो । नेपालका ७७ वटै जिल्लामा रेडक्रसका शाखा, एक हजार बढी उपशाखा र ११ लाख बढी स्वयंसेवक आवद्ध छन् । तिनै स्वयंसेवकमार्फत रेडक्रसले आफ्नो सेवा दिँदै आएको छ । रेडक्रसले मानवीय सेवाका विविध आयामहरुमा काम गर्दै आए पनि यसको मुख्य लक्ष्यचाहिँ मानव उद्धार नै हो ।

मानव तथा प्रकृतिबाट घटित हरेक विपत्तिमा पीडितको उद्धार तथा जीवन रक्षा गर्नु रेडक्रसको मूल धर्म हो ।
नेपालमा रेडक्रसले एम्बुलेन्स, रक्तसञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, आँखा अस्पताललगायतका आकस्मिक सेवाहरु प्रदान गर्नुका साथै विकास र पुनःनिर्माणका काममा समेत विविध काम गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस