२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

उपभोक्ताको माग पूरा गर्न रु ३६ करोड ४० लाखको नयाँ आयोजना निर्माणलाई तीव्रता दिँदै सुनवल खानेपानी संस्था

२०८० बैशाख १७, आईतबार प्रकाशित ( साल अघि) ४२५ पाठक संख्या

मोहन पौडेल
परासी, १७ वैशाख । उपभोक्तालाई माग अनुसारको खानेपानी आपूर्ति गर्न सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ३६ करोड बढीको नयाँ आयोजना विस्तार कार्यलाई तीव्रता दिएको छ। सुनवल क्षेत्रमा जनसंख्या र बसोबास बृद्धि हुँदै जाँदा पानीको माग पनि बढ्न थालेपछि संस्थाले थप नयाँ आयोजना विस्तारको कार्य अघि बढाएको हो ।
उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै नेपाल सरकार संघीय खानेपानी आयोजना कार्यालय मार्फत रु ३६ करोड ४० लाख ७७ हजार बराबरको नयाँ आयोजना निर्माणको काम तीव्ररुपमा भईरहेको संस्थाका कार्यबाहक अध्यक्ष बलबहादुर थापाले जानकारी दिनुभयो ।
संस्थाको शनिबार सम्पन्न दशौँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन उद्घाटन समारोहमा प्रतिवेदन पेश गर्दै उहाँले भन्नुभयो, “दुई वर्ष भित्र सम्पन्न गर्ने हाम्रो लक्ष्य हो, उत्तर र दक्षिण गरी दुई स्कीममा योजना विभाजन गरी निर्माण तीव्र रुपमा भईरहेको छ,ओभरहेड ट्यांकी निर्माण अन्तिम चरणमा पुगेको छ”
उहाँका अनुसार नयाँ आयोजना अन्र्तगत साढे चार लाख लिटर क्षमताका दुई वटा ओभरहेड ट्यांकी,तीन वटा डिप बोरिङ्ग,२९७ किलोमिटर पाईपलाईन विस्तार तथा कार्यालय भवन निर्माण हुनेछन् । यो आयोजना सम्पन्न भएपछि संस्थाको कार्यक्षेत्र सुनवल नगरपालिका वडा नं. १,३,४,६ र १० का सबै टोल र वडा नं. २ का केही टोलमा थप तीन हजार धरधुरी लााभान्वित हुने कार्यबाहक अध्यक्ष थापाले बताउनुभयो ।
“बढ्दो खानेपानी मागको आपूर्तिका लागि निर्माणाधिन नयाँ आयोजना सम्पन्न भएपछि खानेपानी स्रोत थप हुने र सोही स्रोतको व्यवस्थापन गरी आयोजना क्षेत्र भित्रका तीन हजार धरधुरी उपभोक्तालाई थप खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो ।
हाल यस संस्थाले पूरानो आयोजनाबाट चार हजार ४८ धुरधुरीमा जडान गरिएको धारा मार्फत ३२ हजार बढी जनसंख्यालाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको जनाएको छ । दैनिक १८ लाख ५० हजार लिटर पानी उत्पादन गरी १५ लाख ७५ हजार लिटर पानी वितरण गर्दै आएको यो संस्थाले दैनिक १६ घण्टा पानी वितरण गरिरहेको छ । यस आयोजनाको पानीको मूख्य स्रोत बेलारी खोला र जमिनमूनिको पानी हो ।
आयोजनाको कार्यक्षेत्र भित्र एक घर एक धारा अभियानलाई सफल पार्न आवश्यकता अनुसार थप नयाँ आयोजना माग गर्ने र उपभोक्ताको माग बमोजिम सरोकार निकायसँग समन्वय गरी खानेपानी सेवा विस्तार गर्दै जाने संस्थाले लक्ष्य लिएको थापाको भनाई छ । यो आयोजनाले विगत पन्ध्र वर्षदेखि सुनवलमा खानेपानी सेवा सञ्चालन गर्दै आएको छ ।
खानेपानीको वितरणसँगै गुणस्तरीय स्वच्छ र शुद्ध पिउने पानीको व्यवस्थापनमा पनि संस्थाले जोड दिईरहेको उहाँको भनाई छ । तीन÷तीन महिनामा खानेपानीको नमूना संकलन गरी गुणस्तर जाँच गर्ने, पानी संकलन ट्यांकी र फिल्टर युनिट सफा गर्ने, पाईपलाईनके नियमित निरीक्षण गर्ने लगायतका कामहरु नियमित रुपमा भईरहेको संस्थाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस