२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

चापाकललाई निरुत्साहित गर्दै खानेपानी आयोेजनामार्फत शुद्ध पिउने पानीको व्यवस्था गर्न महासंघको माग

२०७९ चैत्र ११, शनिबार प्रकाशित ( साल अघि) ४५३ पाठक संख्या

परासी, ११ चैत । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश समितिले तराई क्षेत्रमा चापाकललाई निरुत्साहित गरी ओभरहेड ट्यांकीमार्फत उपभोक्ताई शुद्ध पिउने पानीको व्यवस्थ ागर्न सरकारसँग माग गरेको छ । चापाकलको पानी पिउन योग्य नभएकोले तीनै तहका सरकारबाट ह्रयाण्डपाईप वितरणको कार्य रोक्नुपर्ने महासंघको जोड छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश समितिको आज कपिलवस्तुको बाणगंगास्थित भूपू सैनिक खानेपानी उपभोक्ता समितिको कार्यालयमा सम्पन्न पूर्ण बैठकले गाउँगाउँमा खानेपानी आयोजना निर्माण गरी उपभोक्तालाई शुद्ध पिउने पानीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । चापाकलको पानीम बढीमात्रामा आर्सेनिक देखिएको र यसबाट क्यान्सरसम्मका रोग लागेको तथ्यांक रहेकोले सरकारले चापाकललाई निरुत्साहित गरी हरेक उपभोक्तालाई शुद्ध पिउने पानीको व्यवस्था गर्नुपर्ने महासंघका प्रदेश अध्यक्ष थानप्रसाद गैरेले जोड दिनुभयो ।
उहाँले गाउँगाउँमा वर्षाैँदेखि निर्माण भएका खानेपानीका ओभरहेड ट्यांकी बजेट अभावका कारण अलपत्र रहेको तथा निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेकोले तीनै तहका सरकारले आवश्यक बजेटको व्यवस्था गरी पानी वितरणको कार्य शुचारु गर्नुपर्ने बताउनुभयो । नेपालकै सबैभन्दा बढी आर्सेनिक रहेको पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको कुनुवार लगायतका गाउँमा विशेष प्राथमिकता दिएर शुद्ध पिउने पानीको व्यवस्था गर्न पनि महासंघले माग गरेको छ ।
यसैगरी खानेपानी डिभिजन कार्यालय नभएका जिल्लाहरमा तत्काल डिभिजन कार्यालय स्थापना गर्न महासंघले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले खानेपानी आयोजना सञ्चालनमा देखिएका समस्या र चुनौती समाधान गर्न स्थानीय सरकारसँग समन्वय गरी विभिन्न स्थानमा अन्तरक्रियाहरु गर्ने निर्णय गरेको छ । महासंघले खानेपानी आयोजनाको दिगोपना र सहज सञ्चालनका लागि सरकारसँग आवश्यक समन्वय, बहस,पैरवी गर्ने जनाएको छ ।
बैठकले महासंघको प्रदेश समितिलाई चलायमान र कार्यसम्पादन छिटो छरितो सम्पन्न गर्न प्रदेश अध्यक्ष गैरेको संयोजकत्वमा नौ सदस्यीय सचिवालय गठन गरेको प्रदेश सचिवालय सदस्य नारायण पाण्डेयले जानकारी दिनुभयो । बैठकले उपभोक्तालाई सुसुचित गर्न र खानेपानी तथा सरसफाइको क्षेत्रलाई मिडियामार्फत जनस्तरसम्म पुर्याउनका लागि प्रदेश स्तरीय वास पत्रकार समूह गठन गर्ने र त्यसको संयोजन प्रदेश सदस्य नारायण पाण्डेले गर्ने निर्णय गरेको छ ।
प्रदेश अध्यक्ष गैरेको अध्यक्षता तथा केन्द्रीय सदस्य सावित्रा रेग्मीको प्रमुख आतिथ्यमा भएको उक्त बैठकलाई सम्बोधन गर्दै रेग्मीले खानेपानी संस्था दर्ता र नवीकरणमा रहेको नीतिगत समस्या समाधान गर्न महासंघले स्थानीय सरकारसँग आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले प्रदेश भरी अधुरा रहेका खानेपानी आयोजना सम्पन्न गर्न महासंघले पहल गर्ने बताउनुभयो । महासचिव शालिकराम भण्डारीको सञ्चालन र उपाध्यक्ष हस्तबहादुर गुरुङको स्वागत रहेको उक्त कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका अध्यक्षहरुले जिल्लाको खानेपानी र सरसफाइको अवस्था,समस्या र चुनौतीका विषयमा रिर्पाेटीङ गरेको महासंघ पश्चिम नवलपरासीका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस