

परासी, १९ फागुन । राष्ट्रिय गौरवको आयोजना बुटवल नारायणगढ सडक खण्ड निर्माणको जिम्मा पाएको चाईना स्टेट कन्स्र्टक्सनलाई नदीजन्य पदार्थ उपयोग गर्न दिने सुनवल नगरपालिकको निर्णयलाई जिल्ला अनुगमन समितिले पनि सिफारिस रेको छ । यसअघि सुनवल नगरपालिकाको बाह्रौँ नगरसभाको बहुमतबाट तुरिया खोलाको नदीजन्य पदार्थ उपयोगका लागि चाईना स्टेट कम्पनीलाई नगरपालिकाले तोकेको शुल्क लिएर ठेक्का दिने निर्णय गरेको थियो ।
परासी प्रेस क्लवले आज गरेको साक्षात्कार कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला अनुगमन समितिका संयोजक भगौती यादव(रुदल)ले नगरपालिकाको उक्त निर्णयले प्रचलित कानुन बमोजिम बाधा नपर्ने देखिएकोले जिल्ला अनुगमन समितिको बैठकबाट उपयोगका लागि सिफारिस गरेको जानकारी दिनुभयो ।
जिल्ला अनुगमन समितिको आज परासीमा सम्पन्न बैठकले सुनवल नगरपालिकाको पत्र बमोजिम ढुंगा, गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा १२ मा गरिएको व्यवस्था र स्वीकृत प्रारम्भीक वातावरणीय परीक्षण प्रतिवेदनको अधिनमा रही उक्त नदीजन्य पदार्थ उपयोग गर्न बाधा नपर्ने भएकोले उपयोग गर्न दिनका लागि सिफारिस गरेको उहाँले बताउनुभयो । यसरी उपयोग गर्न दिदाँ सुनवल नगरपालिकाले उत्खनन्, संकलन तथा व्यवस्थापन सम्बन्धमा अवधि, उपयोग स्थल एवं निकासी परिमाणको लगत सम्बन्धि विवरण मासिक रुपमा जिल्ला अनुगमन समितिलाई पेश गर्नुपर्नेछ ।
यस्तै सोही आयोजनालाई बर्दघाट नगरपालिकाले पनि नदीजन्य पदार्थ उपयोगको जिम्मा दिने तयारी गरेको छ । बर्दघाट नगरपालिकाले वडा नं. २ स्थित गँगटे खोला क्षेत्रबाट प्रचलित कानून बमोजिम नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा व्यवस्थापनका लागि जिल्ला अनुगमन समिति मार्फत राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिलाई सहमतिका लागि सिफारिस गरिएको छ । चुरेको सहमति पछि उक्त खोलाको नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा व्यवस्थापनको जिम्मा सोही आयोजनालाई दिने नगरपालिकाको निर्णय छ ।
बैठकले सुस्ता गाउँपालिकाको चुरे क्षेत्र अन्तरगत पर्ने रायपूरा खोला क्षेत्रबाट प्रचलित कानून बमोजिम नदीजन्य पदार्थ उत्खनन्,संकलन तथा व्यवस्थापनका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिलाई सिफारिस गर्ने निर्णय गरेको प्रमुख यादवले बताउनुभयो ।
यसैगरी जिल्लामा रहेका सबैजसो नदी तथा खोलाहरुबाट नदीजन्य पदार्थ अनाधिकृत रुपमा उत्खनन् एवं चोरी निकासी भईरहेको गुनासो आईरहेकोले त्यस्ता कार्य नियमन गर्न जिल्ला अनुगमन समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कडाईका साथ लाग्न अनुरोध गरेको छ । टिपर तथा टेक्टरले एउटै बील बिजक देखाई पटकपटक नदीजन्य पदार्थ ओसारपसार गरिरहेको गुनासो आएकोले यस विषयमा कडाईका साथ चेकजाँच गर्न प्रहरीलाई अनुरोध गरिएको छ भने सम्बन्धित पालिकालाई पनि तोकिएको आयोजनामा त्यस्ता नदीजन्य पदार्थ उपयोग भएका छन् की अन्यन्त्र विक्री वितरण गरिएको छ भन्ने विषयमा अनुगमन गरी नियमन गर्न आग्रह गरिएको छ ।
