२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

प्रेस चौतारी सिर्जनशील पत्रकारिता पुरस्कार यसवर्ष नवलपरासीकी पहिलो महिला पत्रकार भण्डारीलाई

२०७९ माघ २२, आईतबार प्रकाशित ( साल अघि) १०८५ पाठक संख्या

परासी, २२ माघ । प्रेस चौतारी नेपाल पश्चिम नवलपरासीले प्रदान गर्दै आएको प्रेस चौतारी सिर्जनशील पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार शान्ता भण्डारी सम्मानीत हुनुभएको छ । नवलपरासीकै पहिलो महिला पत्रकार भण्डारीलाई आज प्रेस चौतारीको २५ औँ स्थापना दिवसको अवसरमा परासीमा आयोजित कार्यक्रममा उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारीले आफ्ना छोरा शक्ति अधिकारीको स्मृत्तिमा स्थापना गरेको प्रेस चौतारी सिर्जनशील पत्रकारिता पुरस्कार प्रत्येक वर्ष एक जना पत्रकारलाई प्रदान गर्ने गरिएको छ । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले पत्रकार भण्डारीलाई नगद रु दश हजार, प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो ।
नवलपरासीको सुनवल निवासी भण्डारीले पाल्पाको गाउँले देउराली पत्रिकाबाट पत्रकारिता थाल्नुभएको थियो । प्रेस चौतारी नवलपरासीले प्रदान गर्दै आएको यो पुरस्कारबाट यसअघि पत्रकार लालकुमार भट्टराई,घनश्याम गौतम, शेरबहादुर केसी, केशव पराजुली, राजु रेश्मी, विद्रोही गिरी सम्मानीत भईसक्नुभएको छ ।
यसैगरी प्रेस चौतारी नवलपरासीले आजै दुई लाख बराबरको पत्रकार कल्याणकारी कोषको पनि घोषणा गरेको छ । प्र्रेस चौतारीमा आवद्ध पत्रकारको हितमा खर्च गर्ने गरी कोष सञ्चालन गरिने चौतारीका जिल्ला अध्यक्ष मेघराज गौतमले बताउनुभयो । कोषमा चौतारीमा आवद्ध पत्रकार तथा अन्य शुभचिन्तकहरुबाट प्राप्त रकम संकलन गरिनेछ । कोष घोषणा भएकै दिन आज रामग्राम नगर प्रमुख धनपत यादवले रु दश हजार, नेकपा एमालेका जिल्ला सदस्य एवं प्रेस चौतारी ईन्चार्ज नारायण पाण्डेले रु पाँच हजार, अध्यक्ष गौतमले रु दुई हजार प्रदान गर्ने घोषणा गर्नुभयो ।
चौतारीका अध्यक्ष गौतमको अध्यक्षता तथा नगर प्रमुख यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरी, नेकपा एमाले जिल्ला सदस्य एवं चौतारीका ईन्चार्ज नारायण पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, प्रेस चौतारी लुम्बिनी प्रदेश सचिव बेनीमाधव बस्याल, पुरस्कृत पत्रकार शान्ता भण्डारी, चौतारीका जिल्ला उपाध्यक्ष गौरीशंकर जयसवाल, विकास अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको प्रेस चौतारीका जिल्ला सचिव रामु भुसालले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस