२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

स्वच्छ खानेपानी उपभोक्ताको घर घरमा पु¥याउने योजनाका साथ अघि बढ्दै अँधेरीखोला खानेपानी

२०७९ माघ २१, शनिबार प्रकाशित ( साल अघि) ४८९ पाठक संख्या

मोहन पौडेल
परासी, २१ माघ । अँधेरीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सुनवल- ११ ले पानी फिल्टर गरी उपभोक्ताको घरघरमा स्वच्छ खानेपानी उपलब्ध गराउने योजना बनाएको छ । वर्षातको समयमा पानी धमिलो आउने समस्यालाई निवारण गर्न खानेपानी गुणस्तर विभागको सहयोगमा फिल्टरमार्फत उपभोक्ताको घरघरमा स्वच्छ पानी पुर्याउने समितिले तयारी गरेको हो ।
अँधेरीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आज मामीसति सबरिया मन्दिर भँडरीमा आयोजित नवौँ वार्षिक साधारणसभामा उक्त जानकारी गराईएको हो । समितिका अध्यक्ष बालकृष्ण भट्टराईले धमिलो पानी वितरण गर्नुपर्ने समस्याको समाधान गर्न खानेपानी गुणस्तर विभागबाट यस आयोजनाका लागि विनियोजित रु ४० लाख रकमबाट फिल्टर गरी उपभोक्ताको घरघरमा स्वच्छ पानी उपलब्ध गराईने बताउनुभयो । समितिले आफ्नो कार्यक्षेत्र भित्रका सबै उपभोक्तालाई खानेपानीको पहुँचमा पुर्याउन संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागको सहयोगमा ओभरहेड ट्यांकी निर्माण गर्न पलह गरिरहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।
आयोजनाले पानी संकलन गर्दै आएको ट्यांकी पूरानो र जीर्ण भएकोले प्रदेश सरकारबाट प्राप्त रु ३० लाख रकमबाट पानी रिर्जब ट्यांकी, बाँधमा ईन्टेक निर्माण र बाँध संरक्षणको काम भईरहेको उहाँले बताउनुभयो । अध्यक्ष भट्टराईले उपभोक्तालाई शुद्ध खानेपानीको सहज र सुलभ रुपमा उपलब्धता गराउन समितिले पाईपलाईन विस्तार, मर्मत सम्भार, नयाँ योजना निर्माण लगायतका कार्यहरु गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले स्वच्छ खानेपानी पाउनु सबै नागरिकको मौलिक हक भएकोले नगरपालिकाको पहिलो प्राथमिकतामै स्वच्छ र निःशुल्क खानेपानी उपलब्ध गराउने रहेको बताउनुभयो । आफू निर्वाचित भएर आएपछि पहिलो निर्णय नै महिनामा पाँच हजार लिटर सम्म खानेपानी उपभोग गर्ने नगरवासीलाई निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय गरेर कार्यान्वयनमा ल्याएको बताउनुभयो । यसैगरी अतिविपन्न नागरिकलाई वडाको सिफारिसमा निःशुल्क धारा जडान गर्ने योजना पनि ल्याएको बताउनुभयो ।
पाँच वर्ष भित्र सबै नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने गरी काम भईरहेको नगर प्रमुख अर्यालले बताउनुभयो । नगरको आयस्रोत बढ्दै गएमा सबै नगरवासीलाई निःशुल्क खानेपानी उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पानीका स्रोत संरक्षण गर्न निकै चुनौती आएपनि पछाडि नहटेको उल्लेख गर्दै पानीको स्रोत संरक्षणका लागि खोला दहन, वनविनाश लगायतका कार्य नियन्त्रण गर्न सबै नगरवासीको सक्रियता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका जिल्ला अध्यक्ष एवं उक्त समितिका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठले उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउन तीनै तहका सरकारसँग पहल भईरहेको बताउनुभयो । उहाँले आयोजनाको विस्तार गरी दीर्घकालिन योजनाका साथ काम अघि बढाउन सुझाव पनि दिनुभयो ।
उक्त अवसरमा रामनगर बृहत खानेपानी आयोजनाका उपाध्यक्ष राजु बस्याल, डम्बरभार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टंकनाथ पराजुली, संस्थाका पूर्व अध्यक्ष दिनानाथ कंडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको समितिका लेखा संयोजक टंक सुवेदीले जानकारी दिनुभयो ।
साधारणसभाले अध्यक्ष भट्टराईको वार्षिक प्रतिवेदन, सचिव सुरेन्द्र विक्रम शाहको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष टीका न्यौपानेको आर्थिक प्रतिवेदन र लेखा संयोजक टंकप्रसाद सुवेदीको प्रतिवेदन छलफलसहित पारित गरेको छ । सुनवल नगरपालिका वडा नं. ११ र १२ कार्यक्षेत्र रहेको यस आयोजनामा जम्मा उपभोक्ता घरधुरी संख्या दुई हजार ५०० रहेपनि आयोजनाले एक हजार सात घरमा धारा जडान गरी पानी उपलब्ध गराउँदै आएको र अन्य उपभोक्तालाई क्रमशः पानी उपलब्ध गराउँदै जाने संस्थाका व्यवस्थापक रुक्मागत बस्यालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस