२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्त संरचना र सहज सुविधा उपयोगको वातावरण बनाउन माग

२०७९ माघ ९, सोमबार प्रकाशित ( साल अघि) ६४२ पाठक संख्या

मोहन पौडेल
परासी, ९ माघ । सार्वजनिक स्थल तथा सर्वसाधरणको लागि खुल्ला गरिएका स्थानहरुमा अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्त वातावरण बनाउन माग गरिएको छ । अपांगतामैत्री भौतिक संरचना तथा दैनिक जीवनयापनमा समेत अपांगता भएका व्यक्तिको सहज पहुँच हुने सुविधाको लागि सबै पक्षबाट सुनिश्चितता हुनुपर्ने सहभागिहरुको जोड थियो ।
यूनाईटेड मिसन टु नेपालको सहयोगमा सुनवल सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित अपांगता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त वातावरण निर्माण सम्बन्धि आज पाल्हीनन्दन गाउँपालिकामा भएको अन्तरक्रियामा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन्। यूनाईटेड मिसन टु नेपालकी परियोजना व्यवस्थापक अन्जना श्रेष्ठले सरकारी भवन, विद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिक स्थल, कार्यस्थल, सार्वजनिक सडक,सडक पेटी, यात्रु प्रतिक्षालय, पार्किङ्ग स्थल, मनोरञ्जन स्थल, खेल मैदान, सम्मेलन केन्द्र, सिनेता हल जस्ता सर्वाजनिक स्थलमा अपांगतामैत्री संरचना र सुविधा नहुँदा अपांगता भएका व्यक्तिले सहज पहुँच पाउन नसकेको बताउनुभयो ।
उहाँले सर्वसाधरणलाई खुल्ला गरिएका व्यवसायिक भवन, आवासीय भवन, होटल तथा रेष्टुरेष्ट,एटिएम बैंकीङ् सेवा जस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त र्याम्प, ढोका, झ्याल, गाईडिङ् ब्लक ब्रेलसमेतको व्यवस्था गरी अपांगता भएका व्यक्तिको सहज आवागमन र उपयोगको लागि पहुँच योग्य बनाउन साथै सबै किसिमका अपांगता भएका व्यक्तिले बुझ्ने गरी सञ्चार सेवा सुनिश्चित गर्न जोड दिनुभयो ।
सुनवल सामुदायिक विकास केन्द्रका परियोजना संयोजक श्याम सुन्दर ढुंगानाले अपांगता भएका व्यक्तिलाई हुने अवरोध हटाई पहुँच बृद्धि गर्न निर्माण गरिने सेवा र सुविधामा एकरुपता कायम गर्न आवश्यक मापदण्ड कार्यान्वयन गरी अपांगता भएका व्यक्तिलाई पनि विकास प्रक्रियामा पूर्ण र प्रभावकारी सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो । पश्चिम नवलपरासीका पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकासहित जिल्लाका अपांगता भएका व्यक्तिलाई पहुँचयुक्त वातावरण बनाउन यो परियोजना सञ्चालन गरिएको उहाँले बताउनुभयो । विगत चार महिनादेखि शुरु भएको यो परियोजना दुवै पालिकाका सबै वडामा आगामी ६ वर्षसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।
समुदायमा आधारित यो परियोजनाको माध्यमबाट अपांगता भएका व्यक्ति र उनीहरुको परिवारलाई आर्थिक रुपले सुदृढ गर्ने, अपांगता अधिकार उपयोग गर्न सक्ने गराउने, अपांगता भएका बालबालिकालाई समान शैक्षिक हक सुनिश्चित गराउने, सामाजिक र विकास प्रक्रियामा सहभागितामा वृद्धि, स्वास्थ्य उपचार सहयोग र पुनःस्नापना गर्ने लगायतका उद्देश्य रहेको ढुंगानाले बताउनुभयो ।
यूनाईटेड मिसन टु नेपाल नवलपरासी क्लस्टरकी टिम लिडर सबु तामाङ्ले अपांगता भौतिक संरचना र सेवा सुविधाका साथै अपांगताप्रति हेर्ने दृष्टिकोण र उनीहरुप्रतिको धारणा पनि परिवर्तन हुन आवश्यक रहेकोमा जोड दिनुभयो । पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीले अपांगता भएका व्यक्तिहरुको सहज पहुँचयुक्त बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पालिका स्तरमा निर्माण हुने भौतिक संरचना तथा अन्य सेवा सुविधा अपांगमैत्री बनाईने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अन्तरगतका निर्माण व्यवसायी, ईन्जिनियर, विद्यालय, स्वास्थ्य संस्था, पत्रकार, अन्य सरोकारवाला पक्ष लगायतको सहभागिता रहेको सुनवल सामुदायिक विकास केन्द्रकी कार्यक्रम संयोजक राधा सापकोटाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस