२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिँदै सुनवल नगरपालिका

२०७९ भाद्र ३१, शुक्रबार प्रकाशित ( साल अघि) १६२० पाठक संख्या

मोहन पौडेल
परासी, ३१ भदौ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि अहिले घरघरमा स्वास्थ्यकर्मी पुग्न थालेका छन् । सुनवल नगरपालिकाले नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण एवम् उपचार गर्ने हेतुले घरघरमा स्वास्थ्यकर्मी परिचालन गरेर अभियान शुरु गरेको हो ।
घरदैलोमै पुगेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचारसम्बन्धी सेवा उपलब्ध गराउन यो अभियान शुरु गरिएको नगर प्रमुख विमला अर्यालले जानकारी दिनुभयो । नगरपालिकाभित्रका १३ वटै वडाका घरघरमा पुगेर ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, प्रेसर (उच्च रक्तचाप) र सुगरको चेकजाँच र निःशुल्क औषधी वितरण र स्वास्थ्य परामर्श प्रदान गरिएको मेयर अर्यालले बताउनुभयो ।
यो वर्षदेखि अभियानकै रुपमा यो कार्यक्रम अघि बढाईएको उहाँले बताउनुभयो । स्वास्थ्य संस्थासम्म जान नसकेका तथा दीर्घरोगी ज्येष्ठ नागरिकलाई यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको नगर प्रमुख अर्यालको भनाई छ ।
भदौ २७ गतेदेखि शुरु भएको यो अभिायन अन्तरगत अहिले नगरपालिका भित्रका प्रत्येक घरघरमा स्वास्थ्यकर्मी पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाउने र कुन–कुन औषधि सेवन गर्छन् त्यसको बारेमा समेत जानकारी लिने काम भईरहेको सुनवल नगरपालिका स्वास्थ्य शाखाका उपप्रमुख चुरामणि नेपालले जानकारी दिनुभयो । प्रत्येक त्रैमासिक रुपमा नगर भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी परिचालन गरी घरघरमा स्वास्थ्य सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।
नगरसभाबाट ज्येष्ठ नागरिकको लागि विनियोजन गरिएको बजेटबाट यो अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगर भित्र ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको संख्या चार हजार ५०० रहेको सुनवल नगरपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%१%१%

प्रतिक्रिया दिनुहोस