२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाको पहलमा परासी- मञ्झरिया र हकुई- बकेनवा सडक बिस्तार हुँदै

२०७९ श्रावण १९, बिहिबार प्रकाशित ( साल अघि) १०२९ पाठक संख्या

मोहन पौडेल
परासी, १९ साउन । भूमही- भैरहवा सडक मार्ग अन्तर्गतको परासी – मञ्झरिया सडक खण्ड बिस्तार हुने भएको छ ।
पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालय बुटवलले परासी (बालगोबिन्द पेट्रोल पम्प ) देखि मञ्झरिया ( घोला खोला) सम्मको भाग नाला,फुटपाथ सहित ६ लेनमा बिस्तार गर्न लागेको हो ।
रामग्राम नगरपालिकाको अनुरोधमा उक्त सडक बिस्तार गर्ने गरि सडक डिभिजन कार्यालयले टेन्डर प्रक्रिया अघि बढाएको नगर प्रमुख धनपत यादवले जानकारी दिनुभयो । यसको लागि दस करोड रुपैया बिनियोजन भएको उहाँले बताउनुभयो ।
पहिलो चरणमा पेट्रोल पम्म चोकदेखि मञ्झरिया सम्मको खण्ड बिस्तार हुने र आगामी वर्ष झरही सेतोपुल देखि पेट्रोल पम्प सम्मको सडक बिस्तार हुने नगर प्रमुख यादवले बताउनुभयो । यो सडक खण्ड बिस्तार हुँदा रामग्रामको वडा नं. ३,४ र ५ का ड्राइभर टोल,घोडपाली,जीतपुर लगायतमा हुने डुबान नियन्त्रण हुने अपेक्षा समेत गरिएको उहाँले बताउनुभयो । पेट्रोल पम्प देखि मञ्झरिया सम्म सडकको दुवै तर्फ गरि २४०० मिटर नाला,१२०० मिटर सडक कालोपत्रे र फुटपाथ निर्माण हुने गरि काम अघि बढिसकेको नगरपालिकाका ईन्जिनियर सतिश गुप्ताले जानकारी दिनुभयो ।
यसैगरी रामग्राम नगरपालिकाकै पहलमा दोस्रो चरणमा रामग्राम – १६ हकुई देखि बकेनवा सम्मको सडक बिस्तार हुने भएको छ । यसको लागि रु ५ करोड बिनियोजन भएको ईन्जिनियर गुप्ताले जानकारी दिनुभयो । यो सडकमा पनि दुवै तर्फ नाली निर्माण हुनेछ । सडक बिस्तार सँगै स्थानीयलाई आवातजावतमा सहज हुनुका साथै हकुईदेखि उत्तरतर्फ बर्सेनि हुने डुबान नियन्त्रणमा सहयोग पुग्ने नगर प्रमुख यादवले बताउनुभयो । यसको पनि प्रक्रिया अघि बढ्न लागेको उहाँले बताउनुभयो ।यश क्षेत्रमा सयौं बिघा कृषि योग्य जग्गा डुबानमा पर्ने गरेको छ ।
भूमही – भैरहवा सडक खण्ड अन्तर्गतकै रामखण्डा खोलामा नयाँ पुल निर्माण हुने भएको छ । साँघुरो र जिर्ण उक्त पुलको कारण दुर्घटना हुने गरेको छ । उक्त पुल निर्माणको लागि सडक डिभिजन कार्यालयले टेन्डर प्रक्रियामा लगेको छ । पुलको लागि रु ५ करोड बिनियोजन भएको कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%७%

प्रतिक्रिया दिनुहोस