२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सेवाग्राहीलाई सुविधा दिन सुनवलका वडा कार्यालयहरुमा आजदेखि निःशुल्क फोटोकपी सेवा शुरु

२०७९ श्रावण १, आईतबार प्रकाशित ( साल अघि) ७२६ पाठक संख्या

मोहन पौडेल
परासी, १ साउन । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले वडा कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि वडावडामा निःशुल्क फोटोकपी सेवा शुरु गरेको छ । १३ वटै वडा कार्यालयलाई नगरपालिकाले फोटोकपी, स्क्यानीङ्सहितको प्रिन्टर मेसिन खरिद गरी हस्तान्तरण गरेको छ ।
वडा कार्यालयहरुबाट आजदेखि नै निःशुल्क फोटोकपी सेवा शुरु गरिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो । वडा कार्यालयमा विभिन्न कामको शिलशिलामा आउने सेवाग्राहीले आफ्नो महत्वपूर्ण कागजपत्रको फोटोकपी गर्न अन्यत्र जानुपर्ने र त्यसो गर्दा खर्च बढ्ने र समय पनि व्यत्तित हुने भएकोले सेवाग्राहीलाई झण्झटबाट मुक्त गराउन वडा कार्यालयमै फोटोकपी सेवा उपलब्ध गराईएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष र वडा सचिवहरुलाई मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख अर्यालले सेवाग्राहीलाई सहज, सरल र छिटो छरितो गुणस्तरीय सेवा दिने लक्ष्य अनुसार नगरका सबै वडा कार्यालयलाई आज फोटोकपी, स्क्यानीङ्सहितको प्रिन्टर मेसिन उपलब्ध गराईएको बताउनुभयो ।
फोटोकपी मेसिनको सही सदुपयोग गरी प्रभावकारी सेवा प्रवाह गर्न उहाँले निर्देशन पनि दिनुभयो । “निर्वाचनको समयमा गरेको प्रतिबद्धता र पहिलो कार्यापालिका बैठकबाट गरेको निर्णयलाई कार्यान्वयन गर्न हामी अघि बढेका हौँ”, नगर प्रमुख अर्यालले भन्नुभयो ।
वडा कार्यालयमा खटिएका बालमैत्री स्वयमसेवकलाई परिचालन गरी फोटोकपी सेवा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । सेवाग्राहीलाई सहजीकरण गर्न नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा समेत नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी पनि गरिएको नगर प्रमुख अर्यालले बताउनुभयो ।
बालमैत्री स्वयम्सेवकहरुलाई केही सुविधा थप गरी फोटोकपी सेवाका लागि खटाईएको र केही समयपछि सहायता कक्ष स्थापना गरी वडा कार्यालयबाटै निःशुल्क रुपमा निवेदन लेखन र नागरिकता फारम भर्ने तयारी गरिएको नगर उपप्रमुख सूर्यप्रसाद दुवेले जानकारी दिनुभयो ।
“हामी जनताको सेवाका लागि आएका छौँ, जनताले तिरेको कर जनताकै सुविधाका लागि प्रयोग गर्ने गरी हामी अघि बढेका छौँ, जनताले सहज र सरल रुपमा विना झण्झट सेवा लिन पाउने वातावरणको सिर्जना गर्न हामी लागिरहेका छौँ”, उहाँले भन्नुभयो । उहाँले कुनै पनि बहानामा सेवा अवरुद्ध नगर्न आग्रह गर्दै कुनै समस्या आएमा तत्काल जानकारी गराउन जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%४%१%

प्रतिक्रिया दिनुहोस