२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

शहिद विष्णु पाण्डे स्मृति प्रतिष्ठानमा पाँचौ अधिवेशनबाट निर्वाचित समितिको पदस्थापन

२०७८ भाद्र ७, सोमबार प्रकाशित ( साल अघि) १४६७ पाठक संख्या

मोहन पौडेल
परासी, ७ भदौ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–५ वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे स्मृत्ति प्रतिष्ठानमा नवनिर्वाचित समितिको पदस्थापन भएको छ । संस्थाको पाँचौ अधिवेशनबाट आगामी तीन वर्षका लािग गत बिहीबार निर्वाचित नयाँ कार्य समितिलाई निवर्तमान कार्यसमितिले आज एक समारोहको आयोजना गरी पदहस्तान्तरण् गरेको हो ।
पाँचौ अधिवेशनबाट प्रेम न्यौपाने(पेउनारायण न्यौपाने) अध्यक्ष रहेको नौ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको थियो । नवनिर्वाचित अध्यक्ष न्यौपानेलाई निवर्तमान अध्यक्ष लोकप्रसाद श्रेष्ठले स्वागत गर्दै पदहस्तान्तरण गर्नुभयो ।
नवगठित समितिको उपाध्यक्षमा दुर्गानारायण सुवेदी, सचिवमा खडानन्द कोईराला, कोषाध्यक्षमा देवराज श्रेष्ठ, सहसचिवमा रामप्रसाद सुवेदी तथा सदस्यहरुमा देउरुपा गौतम, बमकुमारी विक, पदम बहादुर क्षेत्री, नारायण प्रसाद कण्डेल तथा लेखा समितिमा संयोजक दीपकप्रसाद पौडेल र सदस्यमा गोविन्दराज पौडेल र रमेशबहादुर क्षेत्री चयन हुनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै  सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले शहीद विष्णु पाण्डे तत्कालिन लुम्बिनी अञ्चलकै प्रथम शहीद भएकोले यो प्रतिष्ठान र शहीद पार्कको विकासका लागि प्रदेश सरकारले पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
सुनवल नगरपालिकाले सीमित स्रोतसधानका बाबजुद पनि क्षमता अनुसारको बजेट विनियोजन गरी सहयोग गर्दै आएको बताउँदै नगर प्रमुख थापाले सबै सरोकारवाला मिलेर विकास गर्न जरुरी रहेको बताउनुभयो । स्थानीय सरकारले अपनत्व ग्रहण गरेर गौरवको योजनाको रुपमा यस पार्कको भौतिक विकास तथा प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको पनि उहाँको भनाई थियो । समृद्ध सुनवलको एउटा महत्वपूर्ण अंग यो पार्क पनि भएको उहाँले बताउनुभयो ।
नगर उपप्रमुख दधिराम अर्यालले नगरपालिका बाहेक प्रदेश र संघीय सरकारबाट पनि यसको विकासका लागि आफूहरुले निरन्तर पहल गर्दै आएको बताउनुभयो । नगरपालिकाका कार्यपालिका सदस्यहरुकाको लगानीमा अहिले पार्क क्षेत्रमा शहीद संग्राहालय बनिरहेको बताउँदै उहाँले यस क्षेत्रलाई सबैको साझा थलोको रुपमा विकास गर्दै पर्यटकीय रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष न्यौपानले प्रतिष्ठानको निर्माणाधिन गुरुयोजनालाई पूर्णता दिएर कार्यान्वयनमा लैजाने बताउनुभयो । प्रतिष्ठानको कार्यालय व्यवस्थापन, पार्क क्षेत्रमा व्यवस्थित फूलबारी, उद्यान, सडकको विस्तार नियमित आम्दानीको स्रोतको पहिचान आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । अध्यक्ष न्यौपानले आफ्नो कार्यकालमा शहीद पाण्डेको जीवनी प्रकाशन गर्ने र शहीद पार्कलाई बालकदेखि बृद्धसम्म र पर्यटक आकर्षित हुने स्थलको रुपमा विकास गर्ने बताउनुभयो । विधान अनुसार दुई जना मनोनीतको व्यवस्था अनुसार अध्यक्ष न्यौपानेले आजै तुलबहादुर पौडेल र पूर्णबहादुर विकलाई कार्यसमिति सदस्यमा मनोनीत समेत गर्नुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष लोकप्रसाद श्रेष्ठ, निर्वाचन समितिका संयोजक थानप्रसाद गैरे, नेकपा एमालेका नगर सहसचिव सागर कुंवर, नेपाली कांग्रेसका नगर सहसंयोजक रामबहादुर क्षेत्री, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बीरबहादुर विक, शहीद पत्नी भागिरथी पाण्डे, प्रतिष्ठानका संस्थापक अध्यक्ष रामचन्द्र भण्डारी, वर्तमान उपाध्यक्ष दुर्गानारायण सुवेदी, सचिव खडानन्द कोईराला लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
जनआन्दोलनका क्रममा २०६२ चैत ३० गते सदरमुकाम परासीमा शहादत प्राप्त गर्नुभएका तत्कालीन लुम्बिनी अञ्चलकै प्रथम शहीद विष्णुप्रसाद पाण्डेको स्मृतिमा विसं २०६३ मा प्रतिष्ठान स्थापना गरी शहीद पार्क (स्मारक स्थल) निर्माण गरिएको हो । पूर्वपश्चिम राजमार्गस्थित वनकट्टीको भगवती सामुदायिक वन क्षेत्रअन्तर्गत १० हेक्टर क्षेत्रफलमा यो पार्क अवस्थित छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस