२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

अब कसैले संसद विघटनको हिम्मत गर्दैन , शक्तिशाली भूमि आयोग पनि बनाईन्छ – बलदेव

२०७८ भाद्र १, मंगलबार प्रकाशित ( साल अघि) ९४० पाठक संख्या

मोहन पौडेल
परासी, १ भदौ-  सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य चक्रपाणि खनाल बलदेवले भूमि सम्बन्धि समस्या समाधानका लागि सरकारले शक्तिशाली आयोग गठन गर्ने बताउनुभएको छ । सरकारले पूर्णता पाएलगत्तै आयोगको घोषणा हुने उहाँले बताउनुभयो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित माओवादी केन्द्रको भातृ सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको सुनवल नगर भेला तथा अधिवेशनलाई आज सम्बोधन गर्दै पूर्वमन्त्री खनालले नयाँ बन्ने आयोगमा सबै राजनीतिक दलको सहभागितासहित समावेशी प्रतिनिधित्व रहने उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकारले सुकुम्बासी, भूमिहीनलाई व्यवस्थापन गर्ने अभियानमै रहेको बताउनुभयो ।
नेता खनालले एमसीसी सुधारसहित पारित हुने जानकारी दिनुभयो । उहाँले वर्तमान सरकार पुरै अवधि चल्ने बताउँदै अब संसद विघटन गर्न कसैले हिम्मत नगर्ने जिकिर गर्नुभयो । यही सरकारले नै निष्पक्ष निर्वाचन गराउने उहाँको भनाई थियो ।
नेता खनालले माओवादी केन्द्रलाई फेरि पहिलो पार्टीको रुपमा स्थापित गर्ने उद्घोष गर्दै सङ्गठन विस्तारमा तीव्रता दिन जोड दिनुभयो । वाईसीएल नेपाल लुम्बिनी प्रदेश अध्यक्ष जीतेन्द्र पुनले वाईसीएललाई फेरि स्थापित गर्ने बताउनुभयो । सङ्गठन मजबुद बनाउन राष्ट्रिय भेला गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।
वाईसीएल नगर संयोजक राजु बस्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य एवं पूर्वराज्यमन्त्री घनश्याम यादव, जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, प्रदेश सचिवालय सदस्य एवं सविधानसभा सदस्य सीता बौडेल, वाईसीएल प्रदेश उपाध्यक्ष माधव घर्ति, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता, वाईसीएल केन्द्रीय सदस्य निर्मला केसी, खड्ग राना, हरि चापागाई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । भेलाले खड्क रानाको अध्यक्षतामा ५१ सदस्यीय वाईसीएलको नगर समिति गठन गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस