२०८३ बैशाख १७, बिहिबार
24 खबर अपडेट

जर्गाहमा उपचार केन्द्र सञ्चालनपछि सर्पदंशका बिरामीलाई सहज

२०७८ श्रावण २४, आईतबार प्रकाशित ( साल अघि) १९३९ पाठक संख्या

मोहन पौडेल
परासी, २४ साउन । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को जर्गाहमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका सर्पदंशका बिरामीले सहज रुपमा उपचार पाउन थालेका छन् । नजिकमै उपचार केन्द्र सञ्चालन भएर सहज रुपमा उपचार पाउन थालेपछि स्थानीयवासीलाई सुविधा भएको छ। ।
प्रहरी युक्ति तालीम महाविद्यालय सुनवल नगरपालिका—११ जर्गाहले सर्पदंश उपचार केन्द्र सञ्चालन गरेपछि उपचारका लागि टाढा जानुपर्ने तथा अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको हो । यसअघि यहाँका बिरामी उपचारका लागि बुटवल, भरतपुरसम्म जानुपर्ने बाध्यता थियो ।
दुई दिन अघि सर्पले डसेपछि उपचारका लागि आउनुभएकी स्थानीय गोमादेवी ढकालले यस केन्द्रबाट आफूले सहज रुपमा सेवा पाएको बताउनुभयो । “हामी पहिला सर्पले टोक्दा टाढा र धेरै खर्च लगाएर उपचारका लागि जानुपर्ने बाध्यता थियो, अहिले जर्गाहमै प्रहरीले उपचार केन्द्र सञ्चालन गरेपछि धेरै सजिलो भएको छ, हामी एकदम खुशी छौँ”, उहाँले भन्नुभयो ।
सुनवल—१० का लक्ष्मण कार्कीले यस केन्द्रबाट आफूले राम्रो उपचार पाएको बताउनुभयो । उपचार सेवा प्रभावकारी रहेकोले बुटवल, भरतपुर पुग्नुपर्ने अवस्था अव नभएको उहाँको भनाई छ । रुपन्देहीको देवदह—४ बाट आउनुभएकी दुर्गा बस्यालले यहाँ राम्रो उपचार हुन्छ भन्ने सुनेकोले बुटवल नगई यहाँ आएको र उपचार पनि राम्रो भएकोले आफू निको भएर फर्कन लागेको बताउनुभयो ।
प्रहरी युक्ति तालीम महाविद्यालयले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रले राम्रो सुविधा पुर्याएको वडाध्यक्ष देवीलाल डुम्रे बताउनुहुन्छ । “सर्पको बिगबिगी रहेको यो क्षेत्र सर्पदंशको उच्च जोखिम रहेको क्षेत्र हो, सर्पदंशबाट यहाँका नागरिक धेरै पीडित भएपछि हामीले महाविद्यालयलाई आग्रह गरेर उपचार केन्द्र स्थापना गर्न सफल भएका हौँ”, उहाँले भन्नुभयो ।
यस उपचार केन्द्रमा हाल दैनिक सरदर तीन जनाको दरले सर्पले डसेका बिरामी आउने गरेको उपचार केन्द्रका चिकित्सक डा.शीक्षित शेर्पाले बताउनुभयो । वर्षायामसँगै सर्प बाहिर निस्कने र डस्ने भएकोले यो समयमा धेरै बिरामी आउने गरेको उहाँ बताउनुहुन्छ । गत आवमा ५७ पुरुष र ५३ महिला गरी ११० जना सर्पदंशका र अन्य ३०० बिरामीले सामान्य उपचार सेवा लिएको उहाँले बताउनुभयो ।
यहाँ उपचारका लागि आएका सबै बिरामी उपचारपछि निको भएर फर्केको र कसैले पनि मृत्युबरण गर्नु नपरेको उहाँको भनाई छ । सर्पले टोकेमा आँखाले माथितिर हेर्न गाह्रो हुने, आँखा बन्द हुने, टाउको दुख्ने,मुखमा फिँज आउने, पेट दुख्ने, बान्ता हुने, बेहोश हुने र सास फेर्न गाह्रो हुने लक्षण देखिने भएकोले प्राथमिक उपचार पछि २४ घण्टासम्म उपचार केन्द्रमै खाली पेट राखेर निगरानी गर्ने गरिएको छ ।
पाँच शैयाको उक्त उपचार केन्द्रमा एउटा मनिटरिङ्सहितको शैया छ भने ठुलो सानो अक्सिजन सिलिण्डर र सघन उपचारका लागि बुटवल लगायतका अस्पालमा जानुपर्ने भएमा आधुनिक सुविधासम्पन्न एम्बुलेन्स सेवा पनि उपलब्ध रहेको डा.शेर्पाले जानकारी दिनुभयो ।
यहाँ पानी सर्प, गोमन, करेत, कोब्रा सर्पले डसेका बिरामी धेरै आउने गरेका छन् । उपचार सेवा सहज र प्रभावकारी हुँदै भएकोले नवलपरासीसहित चितवन, रुपन्देहीबाट पनि बिरामीहरु उपचारका लागि आउने गरेको केन्द्रले जनाएको छ ।
यस उपचार केन्द्रमा प्रहरीकै एक जना एमबीबीएस चिकित्सकसहित चार जना दक्ष स्वास्थ्यकर्मी कार्यरत रहेको महाविद्यालयका प्राचार्य प्रहरी बरिष्ठ उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । तीन वर्षअघि सुनवल नगरपालिकाले भवन निर्माण गरी औषधीको व्यवस्था गरेपछि प्रहरीकै दक्ष कर्मचारीले सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो ।
यस केन्द्रमा अन्य सामान्य रोगका प्राथमिक उपचार पनि गर्ने गरिएको छ । महाविद्यालयले स्थानीय वडाका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । विषालु सर्पको बिगबिगी धेरै रहेकोले यस केन्द्रलाई आईसीयू र भेन्टिलेटरसहितको सुविधासम्पन्न उपचार केन्द्रको रुपमा स्तरोन्नती गर्न आवश्यक देखिएको वडाध्यक्ष डुम्रे बताउनुुहुन्छ । त्यसको लागि नगरपालिकाले पहल थालिसकेको उहाँले उल्लेख गर्नुभयो ।
जिल्लामा यसबाहेक परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा सर्पदंशको उपचार सेवा हुँदै आएको थियो । उपचारका लागि टाढा जानुपर्ने बाध्यताका कारण सर्पले टोकेका धेरै बिरामीले अकालमा ज्यान गुमाउँदै आएका थिए ।रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%७%

प्रतिक्रिया दिनुहोस