२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

दश लाख विद्यार्थीलाई अनेरास्ववियुमा आवद्ध गरेर सामाजिक रुपान्तरणलाई शसक्त बनाउछौँ -महर

२०७८ श्रावण २३, शनिबार प्रकाशित ( साल अघि) १४३९ पाठक संख्या

मोहन पौडेल
परासी, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रिय अध्यक्ष ऐन महरले दश लाख विद्यार्थीलाई अनेरास्ववियुको सदस्य बनाएर शैक्षिक जागरणको माध्यमबाट सामाजिक रुपान्तरण अभियानलाई शसक्त बनाउने बताउनुभएको छ ।
अनेरास्ववियु नवलपरासीको आयोजनामा आज परासीमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदैँ अध्यक्ष महरले अब अनेरास्ववियुको संगठन निर्माण अभियानलाई देशव्यापी रुपमा सञ्चालन गर्ने उद्घोष पनि गर्नुभयो ।
कोरोना महामारी, पार्टी भित्रको विचलन लगायतका कारण अनेरास्ववियुको संगठनात्मक गतिविधिमा असर परेको बताउँदै उहाँले अव केन्द्रिय कमिटीको बैठक बसेर देशव्यापी रुपमा संगठनका गतिविधि अघि बढाउने बताउनुभएको हो । लाखौँ विद्यार्थी विदेशीनु परेको अवस्थालाई मध्यनजर गर्दै अनेरास्ववियुले स्वरोजगार अभियान सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।
फरक प्रसंगमा महरले माधव नेपाल र प्रचण्डकै कारण नेकपाको एकिकरण विभाजन हुन पुगि अहिलेको अवस्था सिर्जना भएको दाबी गर्नुभयो । प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवा भ्रष्टाचारको अभियोगमा जेल जाने अवस्था आएपछि केपी ओली विरुद्ध अहिलेको गठबन्धन बनेको जिकिर गर्नुभयो ।
केपी ओलीले राष्ट्रियता, स्वाधिनताको रक्षा र विकासमा काँचुली फेरेको कारण जनादेशबाट बनेको सरकारलाई हटाएर परमादेशको सरकार बनाइएको भन्दै अध्यक्ष महरले परमादेशबाट बनेको अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको बताउनुभयो । दार्चुलाको तुईन प्रकरणमा बोल्न नसक्ने सरकारका कारण आज राष्ट्रियता कमजोर भएको उहाँको भनाई छ ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष रमेश नेपालीको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष महरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा महरले विद्यार्थी आन्दोलन र समसामयिक विषयमा तथा नेकपा एमाले स्कुल विभागका पूर्व केन्द्रीय सदस्य बद्री खनलले जबजको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
उक्त अवसरमा अनेरास्ववियुका केन्द्रिय स्थायी कमिटी सदस्य याम पाण्डे, नेकपा एमाले नवलपरासीका सहसंयोजक डोलराज भण्डारी, अनेरास्ववियुका केन्द्रिय सदस्य शुसान्त शर्मा घिमिरे, जिल्ला सहसंयोजक निरज पौडेल, सचिव भुपाल शर्मा पौडेल लगायतले शुभकामना व्यक्त गर्नभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस