२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

स्तनपानको महत्त्वको विषयमा शुक्रौली स्वास्थ्य चौकीमा सचेतनामूलक अन्तरक्रिया

२०७८ श्रावण २२, शुक्रबार प्रकाशित ( साल अघि) १०८३ पाठक संख्या

परासी, २२ साउन । सुनौलो हजार दिनका आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्ने उद्देश्यले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका -१६ स्थित शुक्रौली स्वास्थ चौकीमा स्तनपानको विषयमा अन्तर्क्रिया गरिएको छ ।
अगष्ट एकदेखि जारी विश्व स्तनपान सप्ताहको अवसरमा आज स्वास्थ्य कार्यालय नवलपरासीको आयोजना तथा सुआहारा,एसीएफ संस्थाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाकि उपमेयर रम्भा कुँवरले बालबालिकाको जीवन विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाटमात्र पाइने तर गाइभैसिको दुध तथा बजारमा पाइने बट्टाको दुधबाट नपाइने भएकाले ६ महिनासम्मका शिशुलाई आमाको दूध मात्र खुवाउन आग्रह गर्नुभयो ।
शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध ख्वाउन सुरु गर्नुपर्ने भन्दै उहाँले यसो गर्नाले शिशुले दूध चुस्ने क्षमता प्राप्त गर्ने र स्वस्थ्य हुने बताउनुभयो ।
स्तनपानले शिशुको शरीरमा ग्लुकोजको कमि हुनबाट बचाउनुका साथै बच्चा जन्मेदेखि केही दिनसम्म आउने पहेलो प्रकारको बिगौती दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षा क्षमता (एन्टिबडी) धेरै हुने भएकोले बच्चालाई रोग लाग्नबाट समेत बचाउने हुँदा यसलाई शिशुको पहिलो प्राकृतिक खोप पनि भन्ने गरिएको उहाँले बताउनुभयो ।
उहाँले नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आएको बताउँदै नगरपालिकाले गर्भवती महिलालाई पोषिलो झोला वितरण गरिरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख कृष्णप्रसाद पोखरेलले शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्र खुवाउन जोड दिनुभएको थियोे । शिशुको लागि आवश्यक पर्ने पानी, मिनिरल्स, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्व समेत आमाको दूधमा नै प्रयाप्त हुने भएकोले ६ महिनासम्म अन्य कुनै पनि किसिमको थप खाना ख्वाउन आवश्यक नहुने उहाँले बताउनुभयो ।
६ महिनासम्म स्तनपान गराउँदा शिशुहरुको शारीरिक र मानिसक वृद्धि र विकासका लागि सहयोग पुग्ने भन्दै उहाँले पूर्ण स्तनपान गराएका बच्चाहरुको दिमागी क्षमता अन्य बच्चाभन्दा तीक्ष्ण हुने,संक्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकोले स्तनपान अमृत समान हुन पुगेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय प्रमुख पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम-१६ का वडाध्यक्ष भगवान थारु, शुक्रौलि स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटा, नगरपालिकाको स्वास्थ्य शाखा प्रतिनिधि सुरज हरिजन,पत्रकार मोहन पौडेल,एसीएफकि प्राबिधिक अधिकृत सृजना सिलवाल लगायतले स्तनपानको महत्त्वको विषयमा प्रकाश पार्नुभएको थियोे ।
उक्त अवसरमा शुआहाराका सहजकर्ता तीर्थराज ढुंगाना र शुक्रौली स्वास्थ्य चौकिमा मनिष अधिकारीले स्तनपानको महत्त्व, आसन,समय लगायतको विषयमा सहजिकरण गर्नुभएको थियोे ।
प्रत्येक वर्ष अगष्ट १ देखि ७ गतेसम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस