२०८३ मंसिर ६, आईतबार
24 खबर अपडेट

बर्दघाटमा विद्यालयमै शिक्षकको क्षमता विकास गर्न मेंटर शिक्षक तालिम

२०८३ मंसिर ६, आईतबार प्रकाशित (१0 घण्टा अघि) ९१ पाठक संख्या

परासी, ६ मंसिर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षकको निरन्तर पेशागत विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पाँचदिने मेंटर शिक्षक तालिम सुरु भएको छ।
समृद्ध समुदाय विकास केन्द्र, नेपाल (एससीडीसी नेपाल) को आयोजना, बर्दघाट नगरपालिकाको समन्वय तथा डेनमार्कको Skoleliv i Nepal को साझेदारीमा राष्ट्रिय माध्यमिक विद्यालय, बर्दघाट–७ मा शनिबारदेखि तालिम सुरु भएको हो।

मंसिर ९ गतेसम्म सञ्चालन हुने तालिमले विद्यालयभित्रै शिक्षकले शिक्षकलाई सहयोग गर्ने प्रणाली विकास गर्ने लक्ष्य लिएको छ।
समृद्ध समुदाय विकास केन्द्रका अध्यक्ष ठाकुर घिमिरेको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन समारोहमा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम भुसाल, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक शेषकान्त पौड्याल लगयातको विशेष उपस्थिति थियो।
नेपाल सरकारका पूर्व सहसचिव गिरमान थापा प्रमुख प्रशिक्षक रहेको तालिममा सहयोगात्मक शिक्षण विधि, बालकेन्द्रित सिकाइ, कक्षा व्यवस्थापन, कक्षा अवलोकन, रचनात्मक पृष्ठपोषण, शिक्षकबीच सहकार्य, विद्यार्थीको फरक सिकाइ आवश्यकता पहिचान तथा सहकर्मी शिक्षकलाई पेशागत सहयोग गर्ने विधिबारे सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइने संस्थाले जनाएको छ ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै मेंटर शिक्षक प्रणालीलाई नगरपालिकाको दीर्घकालीन शैक्षिक सुधार योजनासँग जोडेर अघि बढाइने बताउनुभयो । तालिममा सिकेका विषय कक्षाकोठा र विद्यार्थीको सिकाइमा देखिन सके मात्र तालिमको वास्तविक सार्थकता पुष्टि हुने उहाँको भनाइ थियो।
कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले ‘चाबी र हथौडा’को उदाहरण प्रस्तुत गर्दै शिक्षक तथा विद्यार्थीमा सकारात्मक परिवर्तन ल्याउन दबाबभन्दा सहयोग र विश्वास महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो ।
बन्द ताल्चामाथि हथौडाले पटक–पटक प्रहार गर्दा पनि सहज रूपमा नखुल्ने तर सानो चाबीले ताल्चाको संरचना बुझेर ठीक ठाउँमा घुमाउँदा खुल्ने दृष्टान्त प्रस्तुत गर्दै उहाँले शिक्षण र मेंटरिङको भूमिकालाई त्यसैसँग तुलना गर्नुभयो । शिक्षक वा विद्यार्थीको अवस्था, समस्या र आवश्यकता नबुझी बाहिरबाट दबाब, आदेश र आलोचना मात्र गर्दा अपेक्षित परिवर्तन सम्भव नहुने उहाँको भनाइ थियो।
कार्यक्रमको उद्देश्य र मेंटर शिक्षक प्रणालीको अवधारणाबारे प्रकाश पार्दै एससीडीसी नेपालका निर्देशक युवराज चापागाईंले शिक्षकको क्षमता विकासलाई एकपटकको तालिममा सीमित नराखी विद्यालय र कक्षाकोठामै निरन्तर पेशागत सहयोग उपलब्ध गराउने उद्देश्यले मेंटर शिक्षकको अवधारणा अघि बढाइएको बताउनुभयो ।
उहाँले मेंटर शिक्षक शिक्षकको कमजोरी खोज्ने निरीक्षक नभई सहयोगी, सहकर्मी र सिकाइका सहयात्री हुने स्पष्ट पार्नुभयो । विद्यार्थीको सिकाइमा देखिएका कठिनाइ पहिचान गर्ने, फरक सिकाइ स्तरलाई सम्बोधन गर्ने, कक्षाकोठामा सहयोगात्मक शिक्षण विधिको प्रयोग बढाउने र एक शिक्षकको प्रभावकारी अभ्यास अर्को शिक्षकसम्म पु¥याउने जिम्मेवारीमा मेंटर शिक्षकको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो।
एससीडीसी नेपालका अध्यक्ष ठाकुर घिमिरेले शिक्षक शिक्षा सुधारको केन्द्रमा रहने भएकाले तालिमबाट प्राप्त ज्ञान र सीप कक्षाकोठाको व्यवहारमा देखिनुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि परियोजना वा तालिमको सफलता कार्यक्रम सम्पन्न भएको संख्याले मात्र मापन नहुने उल्लेख गर्दै शिक्षकको व्यवहारमा आएको सकारात्मक परिवर्तन र त्यसबाट विद्यार्थीको सिकाइमा देखिने सुधार नै वास्तविक उपलब्धि हुने बताउनुभयो ।
बर्दघाट नगरपालिकाले स्थानीय शिक्षा प्रणालीमै मेंटर शिक्षक सहयोग प्रणालीलाई संस्थागत गर्ने उद्देश्यले मेंटर शिक्षक सञ्चालन कार्यविधिअनुसार प्रत्येक विद्यालयबाट तहगत रूपमा शिक्षक सिफारिस गरी उनीहरूको क्षमता विकास गर्ने प्रक्रिया अघि बढाएको छ।
पहिलो चरणमा नगरभित्रका विद्यालयबाट सिफारिस भएका प्राथमिक तहका शिक्षकहरू तालिममा सहभागी भएका छन्। त्यसपछि क्रमशः निम्न माध्यमिक र माध्यमिक तहका मेंटर शिक्षकका लागि पनि छुट्टाछुट्टै चरणमा तालिम सञ्चालन गरिने जनाइएको छ।
यसअनुसार प्रत्येक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि छुट्टाछुट्टै मेंटर शिक्षक विकास गरी सम्बन्धित तहका शिक्षकलाई विद्यालयमै निरन्तर पेशागत सहयोग उपलब्ध गराउने नगरपालिकाको योजना छ। स्थानीय कार्यविधि निर्माण गरी प्रत्येक विद्यालयमा तहगत मेंटर शिक्षक सहयोग प्रणाली अवलम्बन गर्ने बर्दघाटको प्रयास नेपालका स्थानीय तहमध्ये प्रारम्भिक तथा अग्रणी अभ्यासमध्ये एक भएको आयोजकको दाबी छ।
तालिम ’बर्दघाटमा गुणस्तरीय शिक्षा र सक्रिय नागरिकता’ परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो। परियोजनाले शिक्षक क्षमता विकास, सहयोगात्मक सिकाइ, मेंटर शिक्षक सहयोग प्रणाली, विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार, विद्यालय सुशासन तथा अभिभावक र समुदायको सहभागितालाई प्राथमिकतामा राखेको छ।
संस्थाका निर्देशक चापागाइका अनुसार पाँचदिने तालिम सम्पन्न भएपछि सहभागी मेंटर शिक्षकहरू विद्यालयमा फर्केर सहकर्मी शिक्षकसँग नियमित संवाद, कक्षा अवलोकन, अनुभव आदानप्रदान तथा आवश्यकताअनुसार पेशागत सहयोगमा संलग्न हुनेछन्। नियमित अनुगमन, अनुभव आदानप्रदान र थप क्षमता विकासमार्फत विद्यालयमै आधारित दिगो शिक्षक सहयोग प्रणाली निर्माण गर्ने लक्ष्य राखिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑